Kathmandu Press

मनाङमा एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिए

एमालेबाट उम्मेदवारी दिएका पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुविरसिंह गुरुङले उमेदवारी फिर्ता लिन निर्वाचन कार्यालयमा निवेदन दिएका छन्। 
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिए
कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ र एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ ।

काठमाडौं, माघ ९ : मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवारले नाम फिर्ता लिएका छन्। 

एमालेबाट उम्मेदवारी दिएका पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुविरसिंह गुरुङले उमेदवारी फिर्ता लिन निर्वाचन कार्यालयमा निवेदन दिएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले यसको निर्णय भने १ बजेपछि मात्रै गर्ने छ। 

फागुन २१ मा हुने निर्वाचनका लागि ५ जनाको उम्मेदवारी परेको थियो। एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिए पछि अब तीन जना मात्र उम्मेदवार हुनेछन्। 

मनाङमा अघिल्लो निर्वाचनमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका थिए। यो पटक पनि उनी नै कांग्रेसका उम्मेदवार छन्। 

यहाँ कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी हुन्। दुई मध्ये एक जनालाई मात्र उम्मेदवार बनाउन मनाङमा लामाहरूले अग्रसरता देखाएका थिए।  बिहीबार मुख्य दल कांग्रेस र एमालेका उमेदवार बोलाएर लामा गुरुहरूले छलफल गरेका थिए। 

दुवै दलका उमेदवारको अडानपछि अन्ततः चिठ्ठामार्फत को उमेदवार रहने भन्ने टुंगो लगाइएको थियो। जसमा कांग्रेसका टेकबहादुर गुरुङले जितेका थिए। 

उनले प्रतिनिधिसभामा भाग लिँदैगर्दा आउने प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा भने कांग्रेसले एमालेलाई सघाउने सहमति बनेको छ।

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, माघ ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्