Kathmandu Press

पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको हो : शेखर कोइराला

‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो। पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हो।’
पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको हो : शेखर कोइराला

मोरङ, माघ ८ : नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन्।

बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताएका हुन्।

प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई प्रष्ट निकास दिने बताए।

Hardik ivf

छलफलमा नेता कोइरालाले विशेष महाधिवेशनमा सहभागि नभएको विषयमा प्रष्टाउदै भने, ‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो। पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हो।’

विशेष महाधिवेशन पार्टीको प्रक्रिया भएको बताउँदै नेता कोइरालाले भने, ‘यो पार्टीको एउटा प्रक्रिया हो । आज डिला ९डा डिला संग्रौला० जी र म एकै स्थानमा छौं, निर्वाचन दौडमा सँगै हिडिराछौं । त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔं।’ 

जेनजी आन्दोलन अघिसम्म यस क्षेत्र र मुलुकको हितमा सांसदको भूमिकामा रहँदा आफूले नीति निर्माणदेखि जनताको जीवन सहज बनाउने सुखद बनाउनेतर्फ केन्द्रीत रहेको कोइरालाले बताए।

‘सांसद रहँदा संसद भ्रष्टाचारको विरुद्ध र सुशासन ल्याउने पक्षमा बोलिरहें। संसद भित्र र बाहिर लडिरहें,’ उनले भने। 

छलफलमा नेता कोइरालाले सो क्षेत्रको जनताको शिर राष्ट्रिय राजनीतिमा झुक्न नदिएको बताए। पार्टी फुटाएर हिड्नु भन्दा पनि पार्टीलाई जोडेर निकास दिनुनै अहिलेको उत्तम विकल्प रहेको उनको बताए । पार्टीलाई नफुटाई निर्वाचनमा एकढिक्का बनाएर लैजाने दायित्व पनि आफूहरुको भएको हुँदा त्यस अनुरुप आफूले बीचको बाटो समातेको उनले बताए।

कार्यकर्ता भेटघाटका क्रममा नेता कोइरालाले हिजोको दिनमा पार्टीमा भएका कुरालाई स्वीकार गर्दै अब निर्वाचनमा केन्द्रीत हुन जोड दिए।

निर्वाचनले मुलुकलाई निकास दिने बताएका उनले यसपटक कांग्रेसलाई जिताउन सबैले एकढिक्का भएर भूमिका खेल्नुपर्ने बताए।

प्रकाशित मिति: १६:१५ बजे, बिहीबार, माघ ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्