आज राष्ट्रपति न्यूयोर्क जाँदै
काठमाडौं, फागुन २६ : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यू) को ६३औं बैठकमा भाग लिन आज अमेरिका प्....

काठमाडौं, फागुन २६ : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यू) को ६३औं बैठकमा भाग लिन आज अमेरिका प्रस्थान गर्दै छन्।
राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेकी हुन् । राष्ट्रपति भण्डारीले फागुन २८ मा आयोजना हुने ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने छिन् । राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फर्नान्डा इस्पिनोसा ग्रेसेसले यो बैठकको आयोजना गर्ने लागेकी हुन् ।
न्यूयोर्क प्रस्थान गर्ने नेपाली प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा, राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारी रहेका छन् ।
न्यूयोर्क भ्रमणका क्रममा राष्ट्रसंघको सचिवालयमा महासचिव एन्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। इस्टोनियाका राष्ट्रपति केर्सटी कालजुलेड, क्रोएसियाका राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिच, आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनसँग पनि राष्ट्रपतिको भेट वार्ता हुने छ । उनी चैत १ गते नेपाल फर्किने छन् ।











