न्यूनतम भाडा अत्यन्तै कम भएको भन्दै इन्ड्राइभका राइडरहरूको प्रदर्शन
हाल इन्ड्राइभले लागू गरेको ३२ रुपैयाँको न्यूनतम भाडादरले राइडरहरूलाई गम्भीर आर्थिक दबाबमा पारेको उनीहरूको भनाइ छ। भाडा दर क्रमशः घट्दै आएको र यसले श्रमको मूल्यांकन नगरेको भन्दै राइडरहरू आक्रोशित बनेका हुन्।-1768372679.jpg)
काठमाडौँ, पुस ३० : अनलाइन राइड–हेलिङ सेवा इन्ड्राइभले न्यूनतम भाडादर अत्यधिक घटाएको आरोप लगाउँदै राइडरहरू आन्दोलनमा उत्रिएका छन्। न्यूनतम भाडा जीवनयापन र सञ्चालन खर्चसँग मेल नखाने भन्दै उनीहरूले ललितपुरको कुपण्डोलस्थित इन्ड्राइभ कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।
हाल इन्ड्राइभले लागू गरेको ३२ रुपैयाँको न्यूनतम भाडादरले राइडरहरूलाई गम्भीर आर्थिक दबाबमा पारेको उनीहरूको भनाइ छ। भाडा दर क्रमशः घट्दै आएको र यसले श्रमको मूल्यांकन नगरेको भन्दै राइडरहरू आक्रोशित बनेका हुन्। प्रदर्शनका क्रममा ‘न्यूनतम भाडा बढाऊ’, ‘श्रमको उचित मूल्य देऊ’ जस्ता नाराहरू लगाइएको थियो।
राइडरहरूका अनुसार यसअघि न्यूनतम भाडा ६० देखि ६५ रुपैयाँसम्म रहेकोमा पहिले ४० रुपैयाँ र अहिले झनै घटाएर ३२ रुपैयाँ कायम गरिएको छ। उनीहरू भन्छन्, यस्तो भाडामा इन्धन, मर्मतसम्भार र दैनिक खर्च धान्न असम्भव जस्तै भएको छ। निरन्तर काम गर्दा पनि आम्दानी अत्यन्त न्यून हुने अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ।
-1768372679.jpg)
राइडरहरूले कम्पनी व्यवस्थापनसँग पटक–पटक संवाद गर्न खोज्दा पनि आफ्ना माग र समस्याप्रति गम्भीरता नदेखाइएको आरोप लगाएका छन्। यही कारण आफूहरू बाध्य भएर सडक आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ।
यदि न्यूनतम भाडा पुनरावलोकन गरी बढाइएन भने आन्दोलनलाई काठमाडौँ उपत्यकाबाट देशव्यापी बनाउने चेतावनी पनि राइडरहरूले दिएका छन्। श्रमको सम्मान, न्यायोचित भाडादर र दिगो रोजगारी सुनिश्चित नभएसम्म आन्दोलन नरोकिने उनीहरूको अडान छ।












