Kathmandu Press

विरासतको चिहानमा उभिएको स्याङ्जा, छिमेकीको उडान र हाम्रो ‘भग्नावशेष’ 

कुनै समय ‘नेपालको प्रशासनिक राजधानी’ भनिने यो जिल्ला आज कुन अवस्थामा छ ? के हामी अझै पनि ‘हाम्रो जिल्लाबाट यति हाकिम निस्किए’ भनेर थोत्रो गौरवगाथा गाउँदै बस्ने कि जिल्लाको भग्नावशेषमा उभिएर वास्तविक ऐना हेर्ने ? 
विरासतको चिहानमा उभिएको स्याङ्जा, छिमेकीको उडान र हाम्रो ‘भग्नावशेष’ 

स्याङ्जा एउटा यस्तो जिल्ला, जो इतिहासको ब्याज खाएर वर्तमानको दरिद्रता लुकाइरहेको छ। कुनै समय ‘नेपालको प्रशासनिक राजधानी’ भनिने यो जिल्ला आज कुन अवस्थामा छ ? के हामी अझै पनि ‘हाम्रो जिल्लाबाट यति हाकिम निस्किए’ भनेर थोत्रो गौरवगाथा गाउँदै बस्ने कि जिल्लाको भग्नावशेषमा उभिएर वास्तविक ऐना हेर्ने ? 

सत्य तीतो छ, स्याङ्जा आज ओरालो लागेको एउटा ‘ब्रान्ड’ हो, जसको चमक हराउँदैछ र जसको अस्तित्व संकटमा छ।

छिमेकीको फड्को, स्याङ्जाको ओरालो यात्रा

Hardik ivf

कास्की (पोखरा) प्रदेशको राजधानी बनेर आधुनिकताको शिखर चुम्दैछ। तनहुँले जलविद्युत र सडक सञ्जालमा नयाँ इतिहास रच्दैछ। पर्वत र गुल्मी जस्ता जिल्लाहरूले समेत पछिल्लो समय पर्यटन र पूर्वाधारमा स्याङ्जालाई धेरै पछाडि छाडिसके। पोखरा जस्तो पर्यटकीय मुटुको छिमेकी हुनुको लाभ लिनु त परको कुरा, हामीले त पोखरा जोड्ने मेरुदण्डलाई समेत ‘जीर्ण’ बनाएर राखेका छौँ। छिमेकी जिल्लाहरू समृद्धिको मार्गमा दौडिरहँदा स्याङ्जा भने ‘बासी गौरव’ को झोला बोकेर कछुवा गतिमा घिस्रिरहेको छ।

लोकसेवाको साख : इतिहासको पानामा सीमित

हामी अझै पनि लोकसेवाको गढ भन्दै छाती फुलाउँछौँ, तर के आजको यथार्थ त्यही हो ? लोकसेवामा स्याङ्जाको ‘मोनोपोली’ ध्वस्त भइसकेको छ। छिमेकी जिल्लाहरूले शैक्षिक र प्रशासनिक फड्को मारिसक्दा हामी भने विगतको विरासत ढोगेर बसिरहेका छौँ। नयाँ पुस्तामा न त त्यो जोश छ, न त जिल्लामा उपयुक्त शैक्षिक वातावरण। ‘हाकिमको जिल्ला’ को ट्याग अब केवल एउटा ठट्टा बन्ने बाटोमा छ।

समृद्धिको गफ, विकासको सुस्तता

भौगोलिक सुगमता र पोखरा-लुम्बिनीको केन्द्रमा हुनुको फाइदा स्याङ्जाले शून्य बराबर लिएको छ। अन्य जिल्लाले सुरुङ मार्ग र औद्योगिक कोरिडोरको कुरा गरिरहँदा हामी अझै पनि वर्षामा भत्किने कच्ची सडक र अस्तव्यस्त बजारमै रमाएका छौँ। विकासका योजनाहरू कागजी बाघ मात्र बनेका छन्। 

सिद्धार्थ राजमार्गको अवस्था हेर्दा स्याङ्जाको राजनीति र प्रशासन कतिसम्म लाचार र गैरजिम्मेवार छ भन्ने प्रष्ट हुन्छ। यो राजमार्गको दुईवटा रूप छ । एउटा स्याङ्जा बाहिरको, जुन अपेक्षाकृत राम्रो छ । र अर्को स्याङ्जा भित्रको, जुन ‘बेजोग र दयनीय’ छ। स्याङ्जा आज विकासको दौडमा ‘मध्यम’ पनि होइन, ‘पछाडि परेको’ जिल्लाको सूचीमा दर्ता हुँदैछ।

अवसरको हत्या र सुतिरहेको नेतृत्व

स्याङ्जाले राष्ट्रिय राजनीतिमा ठूला कदका नेताहरू नदिएको होइन, तर ती नेताहरूले स्याङ्जालाई के दिए ? केवल गुटबन्दी, कार्यकर्ताको भर्ती केन्द्र र चुनावका बेला देखाइने चिल्ला आश्वासन। राजनीति यहाँ केवल आफ्नो दुनो सोझ्याउने माध्यम बनेको छ। विकासका एजेन्डामा सबै दल एक ठाउँमा उभिन नसक्नु र व्यक्तिगत स्वार्थलाई जिल्लाको स्वार्थभन्दा माथि राख्नु नै स्याङ्जा खस्कनुको मुख्य कारण हो। नेताहरू मन्त्री बने, तर स्याङ्जा जस्ताको तस्तै रह्यो।

अबको बाटो : तुजुक त्याग्ने र रूपान्तरण गर्ने 
स्याङ्जालाई अब ‘कस्मेटिक’ टालटुल होइन, एउटा सर्जिकल अपरेसनको खाँचो छ।

भ्रमबाट मुक्त : हामी सर्वश्रेष्ठ छौँ भन्ने भ्रमबाट मुक्त भएर शून्यबाट काम सुरु गर्नुपर्छ।

नेतृत्वलाई प्रश्न : गफ मात्र गर्ने र विकास रोक्ने राजनीतिक शक्तिलाई प्रश्न मात्र होइन, बहिष्कार गर्ने हिम्मत राख्नुपर्छ।

युवा विद्रोह : अबको पुस्ताले लोकसेवाको फारम मात्र होइन, जिल्लाको विकासको लगाम पनि आफ्नै हातमा लिनुपर्छ।

निष्कर्ष

विरासतले पेट भरिँदैन। पुर्खाले बनाएको घरमा झ्यालढोका पनि फेर्न नसक्ने सन्तान हुनुको कुनै अर्थ छैन। स्याङ्जालाई ‘बौद्धिक जिल्ला’को खोक्रो आडम्बरबाट बाहिर निकालेर ‘उत्पादन र समृद्धिको हब’ बनाउन जरुरी छ। 

समय घर्किसकेको छ, यदि अब पनि नजाग्ने हो भने इतिहासले स्याङ्जालाई केवल एउटा ‘भूतपूर्व सफल जिल्ला’ को रूपमा मात्र सम्झनेछ। 

(लेखक स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता हुन्) 

प्रकाशित मिति: १२:१६ बजे, बुधबार, पुस ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्