स्याङ्जामा क्रिकेटको रौनक, ११ वटै पालिकाले धमाधम खेलाडी छनौट गर्दै
फेदिखोला, आधिखोला, हरिनाश, बिरुवा, अर्जुनचौपारी, कालीगण्डकी गाउँपालिका र पुतलीबजार, वालिङ, गल्याङ, चापाकोट र भिरकोट नगरपालिका गरि ११ वटै पालिकाले सुचना नै निकालेर खेलाडी छनौट खेल सहित छनौट प्रक्रिया अघि बढाएको स्याङ्जा जिल्ला क्रिकेट संघले जनाएको छ ।
काठमाडौं, पुस २६ : स्याङ्जा सदरमुकाम स्थित मालेबगर खेलमैदानमा आयोजित प्रथम खुमा अर्याल कप अन्तरपालिका स्तरिय टि ट्वान्टी क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाका ११ वटै पालिकाले आफ्नो पालिकाको खेलाडी टिम छनौट प्रक्रियालाई उत्साहका साथ अघि बढाएका छन ।
फेदिखोला, आधिखोला, हरिनाश, बिरुवा, अर्जुनचौपारी, कालीगण्डकी गाउँपालिका र पुतलीबजार, वालिङ, गल्याङ, चापाकोट र भिरकोट नगरपालिका गरि ११ वटै पालिकाले सुचना नै निकालेर खेलाडी छनौट खेल सहित छनौट प्रक्रिया अघि बढाएको स्याङ्जा जिल्ला क्रिकेट संघले जनाएको छ ।
खुमा अर्याल फाउन्डेसन स्याङ्जाको आयोजना, पुतलीबजार नगरपालिकाको सह आयोजना, स्याङ्जा जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग एवम् जिल्ला खेलकुद विकास समिति स्याङ्जाको परामर्शमा यहि माघ २ गतेदेखी सञ्चालन हुने खुमा अर्याल कपले स्याङ्जामा क्रिकेटको रौनतकता तताएको हो । २ चरणमा सञ्चालन हुने लिग यहि माघ २ देखि ४ गतेसम्म पहिलो र माघ ९ देखि १४ गतेसम्म दोस्रो चरणमा गरि सञ्चालन हुने आयोजक खुमा अर्याल फाउन्डेसनका सचिव ध्रुव शर्माले जानकारी दिए ।
प्रतियोगिताको तयारी तिव्रताका साथ अघि बढिरहेको छ भने अन्तिम टिम दर्ता मिति पौष २९ गतेसम्म रहेको छ । प्रतियोगिताको उपाधी विजेताले विभिन्न बहुमुल्य रत्न जडित रनिङ शिल्ड कप सहित नगद २ लाख रुपियाँ र ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । यस्तै, प्रतियोगिताको उपविजेताले १ लाख ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगितामा तृतिय र सान्त्वना टिमले क्रमश नगद १ लाख र ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन । प्रतियोगितामा प्लेयर अफ दि म्याज र बेस्ट प्लेयर पुरस्कारको समेत व्यवस्था गरिएको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए ।
प्रतियोगितामा कुल ३ सय जना खेलाडी सहभागी हुने विश्वास गरिएको छ । जसमा २५० खेलाडी जिल्ला भित्रकै र ५० जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सहभागी हुने विश्वास छ । खेल चङ्गा स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण गरिने समेत जनाइएको छ ।












