Kathmandu Press

मदिरासेवन गरी आफ्नै घरमा आगो लगाएपछि...

गलकोट, जेठ ८ : बडिगाड गाउँपलिका २ सिमलचौरका शिव भनिने सुरजबहादुर कुमालले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन्। ज्याला मजदुरीमा धानिएको परिवार....

मदिरासेवन गरी आफ्नै घरमा आगो लगाएपछि...
प्रतिकात्मक तस्बिर

गलकोट, जेठ ८ : बडिगाड गाउँपलिका २ सिमलचौरका शिव भनिने सुरजबहादुर कुमालले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन्। ज्याला मजदुरीमा धानिएको परिवारको घर र गोठ जलेर नष्ट भएपछि परिवारको बिचल्ली भएको छ। 

बुधबार राति ९ः०० बजेपछि प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो। गोठमा बाँधिएका पशु भने फुकाइएको थियो   घरगोठ जल्दा दुई लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको खर्बाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले जानकारी दिए। घरधनी सुरजले रातिको समयमा मदिरा सेवन गरी श्रीमती राधिका र छोराछोरीलाई पिट्न थालेपछि उनीहरु भागेका थिए। त्यही सयममा कुमालले आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ।  श्रीमानले आफूहरुलाई कुट्न थालेपछि छोराछोरी लिएर ज्यान बचाउन छिमेकीको घरमा पुगेका बेला श्रीमानले आफ्नै घरमा आगो लगाएको पीडित राधिकाले बताइन्।

श्रीमानले अत्यधिक मदिरा सेवन गर्दै आएका कारण आफू समस्यामा पर्दै आएको उनको गुनासो छ। घरमा आगो लगाएर भित्रै बसेका सुरजलाई तत्कालै जुटेका स्थानीयले भित्रबाट निकालेका थिए। आगो नियन्त्रणमा आएपछि प्रहरीले सुरजलाई नियन्त्रणमा लिई प्रहरीचौकी खर्बाङमा राखेको छ।

खरको छानो विस्थापित गरी टिनको छाना लगाउने गरी तयार गरिएका सबै काठसहित सिंगो घर गोठ नै जलेपछि परिवार बिचल्लीमा परेको छ। परिवारमा श्रीमान् श्रीमतीसहित तीन छोरा र एक छोरी छन्। बन्दाबन्दीको समयमा घर गोठ जल्दा खाने बस्नेको समस्या भएको छ।

घर जलेपछि छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्बाङले त्रिपाललगायतका अत्यावश्यक वस्तु सहयोग गर्ने सभापति होमनाथ अर्यालले जानकारी दिए। आगलागीपीडित कुमालको परिवारलाई गाउँपालिकाले पनि राहत प्रदान गर्ने बडिगाड गाउँपालिकाले जनाएको छ। 

प्रकाशित मिति: १३:३७ बजे, बिहीबार, जेठ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्