भारतबाट एकै दिन आए एक हजार दुई सय कर्णालीवासी
सुर्खेत, जेठ ८ : भारतबाट आएका एक हजार दुई सय सात जना कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–५ बबई पुगेका छन्।
भारतका ....

सुर्खेत, जेठ ८ : भारतबाट आएका एक हजार दुई सय सात जना कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–५ बबई पुगेका छन्।
भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै आज मात्र उनीहरु बबई पुगेका हुन्। प्रवेशद्वारमा पुगेका सबै कर्णालीवासी रहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए।
उनका अनुसार दैलेखका पाँच सय, सुर्खेतका तीन सय २०, सल्यानका दुई सय ६६, जाजरकोटका ७७ र कालिकोटका ४४ जना रहेका छन्। भारतबाट सयौँको सङ्ख्यामा कर्णालीवासी नागरिक भित्रिदै गरेको उनले बताए ।
भारतबाट आएका सबैको प्रदेश सरकारले आरडिटी गर्ने उनले बताए। 'भारतबाट आउने सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ। नागरिकको स्वास्थ्य र सुरक्षामा सरकार संवेदनशील भएर लागेको छ। सीमामा आरडिटी भएकाले पनि जिल्लामा अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था गरिएको छ,' उनले भने।
प्रदेश सरकारले तत्काल आरडिटीका लागि आवश्यक किटसहित स्वास्थ्य जनशक्ति बबई पुगेको सामजिक विकासमन्त्री दल रावलले बताए। 'त्यहाँ पुगेका सबैको आरडिटी परीक्षण गर्छौँ र पोजेटिभ देखिएमा प्रदेशको क्वारेन्टिनमा राख्छौँ। उनीहरुको पिसीआर गरेर सङ्क्रमण देखिएमा आइसोलेसनको पनि तयारी भइरहेको छ,' उनले भने।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतनिधि वाग्लेले अहिले तत्काल सात सय किटसहित १६ जना आरडिटीका लागि कर्मचारी बबईमा परिचालन भएको बताए। आवश्यकताअनुसार, थप किट पठाउने र परीक्षणकार्यलाई तीव्र बनाउने उनले बताए।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले भारतबाट आउने नागरिकको शान्ति सुरक्षार्थ प्रहरी तयारी अवस्थामा राखिएको बताए। केही जनशक्ति सीमा निर्वाध रहेको र केही जनशक्ति सुर्खेतबाट पठाइएको उनले बताए। यो डेढ साताभित्र प्रदेशमा १५–२० हजार नागरिक भित्रिएका छन्। (रासस)











