अम्फन चक्रवातले आज देशभर वर्षाको सम्भावना
काठमाडौं, जेठ ८ : बंगालको खाडीमा उत्पन्न भएको अम्फन चक्रवातको प्रभावले आज देशभर बदली रही अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।
बङ्गालको ....

काठमाडौं, जेठ ८ : बंगालको खाडीमा उत्पन्न भएको अम्फन चक्रवातको प्रभावले आज देशभर बदली रही अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।
बङ्गालको खाडीमा शक्तिशाली चक्रवाता उत्पन्न भएको छ। त्यो जमिनमा प्रवेश गरिसकेको र त्यसको नेपालमा पनि प्रभाव पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, अम्फन चक्रवातको प्रभाव दुई दिनसम्म रहनेछ। आज देशको पूर्वी भूभागमा पूर्ण बदली रही केही स्थान र पश्चिमी तथा मध्यका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए।
यो चक्रवात भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको तटीय क्षेत्र पार गरी उत्तरपूर्वतर्फ अगाडि बढिरहेको छ। त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तर–पूर्वी दिशातर्फ मोडिने सम्भावना रहेको जनाएको छ।
मौसमविद्हरुका अनुसार चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थान प्रभावित हुनेछन्। आगामी दुई दिनसम्म केही स्थानमा वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुनसक्ने विभागले जनाएको छ।
त्यस्तै, पूर्व र मध्यक्षेत्रमा खोलानालामा बाढी पनि आउनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
आज राति देशको पूर्वी भूभागमा पूर्ण बदली रहनेछ। पूर्वी भूभागका केही स्थान र मध्य भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुने जनाएको छ।
भोलि देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागमा सामान्य बदली हुनेछ। पूर्वी भूभागका केही स्थान साथै मध्य र पश्चिमी पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
शनिबार देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहनेछ भने मध्य तथा पूर्वी भूभागका केही स्थान र पश्चिमी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० दशमलव तीन डिग्री सेल्सियस रहेको छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६ दशमलव चार डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।











