टि–२० महिला विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टिमको घोषणा
नवनियुक्त प्रशिक्षक हर्षल पाठकको नेतृत्वको नेपाली महिला टिममा उपकप्तानको जिम्मेवारी पुजा महतोलाई दिइएको छ। करिब २ साताको प्रशिक्षण पश्चात बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट उनले टिम घोषणा गरे हुन्।
काठमाडौं, पुस २० : घरमै आयोजना हुने टी–२० महिला विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टिमको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।
नवनियुक्त प्रशिक्षक हर्षल पाठकको नेतृत्वको नेपाली महिला टिममा उपकप्तानको जिम्मेवारी पुजा महतोलाई दिइएको छ। करिब २ साताको प्रशिक्षण पश्चात बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट उनले टिम घोषणा गरे हुन्।
बन्द प्रशिक्षणमा रहेका रुबी पोदार, सना प्रविन, इश्वरी विष्ट, सोनी पाख्रिन र लक्ष्मी साउदले ग्लोबल छनोटको नेपाली टिममा स्थान बनाउन सकेनन्। रुबि, सबनम र इश्वरी एसिया छनोट खेल्दा टिममा थिए।
नेपाली टिममा अनुभवी अलराउन्डर सिता रानामगरले पुनरामगमन गरेकी छिन्। उनी नेपाली टिमकी पहिलो पुस्ताकी खेलाडी हुन्। उनीसँगै सोमु विष्ट र काजल श्रेष्ठले पनि पुनरागमन गरेका छन्।
प्रतियोगिता जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौंको टियू र मुलापनी क्रिकेट मैदानमा हुनेछ। नेपाली टिम पहिलो पटक विश्वकपमा स्थान बनाउन चाहन्छ।
ग्लोबल छनोटमा नेपालसहित १० टिम सहभागी छन्। सहभागी टिमलाई २ समूहमा विभाजन गरिएको छ। जसमा थाइल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड्स र जिम्बाव्वेसँगै नेपाल समूहमा बीमा छ। यस्तै समूह एमा बंगलादेश, आयरल्याण्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका छन्।
दुवै समूहका शीर्ष टिम सुपर सिक्समा पुग्ने छन्। सुपर सिक्सबाट चार टिमले इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन्।
नेपालले माघ ४ गते थाइल्याण्डसँग खेल्दै प्रतियोतिगाको सुरुआत गर्नेछ।
नेपाली टोली : इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी, मनीषा उपाध्याय।












