युवाहरूलाई सरकारी जागिरको आकर्षण बढाउँदै अर्जुनचौपारी
आर्थिक अवस्था र समयको अभावमा बजारमा पुगेर लोकसेवा र शिक्षक सेवाका ट्युसन लिन नसक्ने युवाहरूलाई स्वदेशमै रोजगारी गर्न प्रेरित गर्ने उद्देश्यले पालिकाले अभिमुखीकरण कार्यक्रम गरेको हो ।
काठमाडौं, पुस २० : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पालिकाका युवाहरूलाई सरकारी जागिरतर्फ प्रेरित गर्न अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । पालिकाले शनिबार लोक सेवा आयोग तथा शिक्षक सेवा आयोग सम्बन्धी एक दिने निःशुल्क अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
आर्थिक अवस्था र समयको अभावमा बजारमा पुगेर लोकसेवा र शिक्षक सेवाका ट्युसन लिन नसक्ने युवाहरूलाई स्वदेशमै रोजगारी गर्न प्रेरित गर्ने उद्देश्यले पालिकाले अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले क्षमता विकास गर्दछु भन्नेलाई अभिमुखीकरण कार्यक्रम गरिएको र भावी दिनमा कसरी अगाडि बढने भन्ने अभिमुखीकरण कार्यक्रमले बाटो देखाउने र प्रेरणा दिने काम गरेको बताए ।
कार्यक्रममा नेपाल सरकारका उपसचिव मित्र प्रसाद घिमिरेले आफूले धेरै दुख गरेर निजामती सेवा प्रवेश गरेको बताउँदै सरकारी विद्यालयमा पढेको र आफ्नो टोलमा अझै मोटरबाटो नपुगेको बताए । सोही गाउँपालिका वडा नं–५ स्थायी घर भएका घिमिरेले लिखित परिक्षा दिन कसरी पढ्ने र परीक्षा दिने भन्ने बिषयमा जानकारी गराएका थिए ।
यस्तै सोही पालिका वडा नं –३ घर भई स्वास्थ्य मन्त्रालयमा शाखा अधिकृत पिताम्बर रिमालले आईक्यू र गाउँपालिका पुर्व प्रशासकीय अधिकृत तथा स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत कौशलराज पाण्डेले समसामयिक विषयमा कसरी परीक्षा दिनेमा सहजिकरण गरेका थिए । अभिमुखीकरण कार्यक्रममा लोकसेवाको तालिम लिन करिब १ सय५० जनाको सहभागिता रहेको थियो ।












