एन्फाको अर्ली इलेक्सनमा जाने निर्णय अवैधानिक छैन : महासचिव राई
‘यदी कार्यसमितिमा यो बहुसंख्यक सदस्यले ठिक छ नभनेको भए यो निर्णय लागू हुन सक्दैनथ्यो। यो संस्थागत निर्णय भइसकेको छ। संस्थागत निर्णयको अगाडि व्यक्तिगत निर्णय या असन्तुष्टि कार्यान्वयन हुन सक्दैन। यो बहुमतको निर्णय फरक मत भएका साथिहरुले पनि स्वीकार्नुपर्छ,’ उनले भने।
काठमाडौं, पुस १९ : अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिव किरण राईले संघले गरेको अर्ली इलेक्सनमा जाने निर्णय अवैधानिक नभएको स्पष्ट पारेका छन्।
शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले कार्यसमितिले आफ्नो कार्य अवधिलाई घटाएर अगाडि नै निर्वाचन गर्छु भन्नु अवैधानिक नरहेको बताए।
‘विधानमा चाँही चार वर्ष नै छ। यदी त्यस्तो अवस्था आयो भने चार वर्षभन्दा ६ महिना थप गर्न सक्छौं है भन्ने व्यवस्था विधानमा छ। त्यसैले कार्यसमितिले आफ्नो कार्य अवधिलाई घटाएर अगाडि नै निर्वाचन गर्छु भन्नु अवैधानिक हुँदैन,’ उनले भने ‘कार्यसमितिले अर्को कुनै कमिटी या संस्थाको अरु कसैको कार्यअवधि घटाएको भए मार पारेको अन्याय गरेको हुन्थ्यो। तर यो घटाउने निर्णय गर्ने अधिकार छ।’
उनले कार्यसमितिका बहुसंख्यक सदस्यको मतको आधारमा अर्ली इलेक्सनको निर्णय भएको भन्दै जसरी पनि निर्णय लागू हुने बताए। संस्थागत निर्णयको अगाडि व्यक्तिगत निर्णय कार्यान्वयन हुन नसक्ने भन्दै उनले बहुमतको निर्णय फरक मत भएकाहरुले पनि स्वीकार्नु पर्ने धारणा राखे।
‘यदी कार्यसमितिमा यो बहुसंख्यक सदस्यले ठिक छ नभनेको भए यो निर्णय लागू हुन सक्दैनथ्यो। यो संस्थागत निर्णय भइसकेको छ। संस्थागत निर्णयको अगाडि व्यक्तिगत निर्णय या असन्तुष्टि कार्यान्वयन हुन सक्दैन। यो बहुमतको निर्णय फरक मत भएका साथिहरुले पनि स्वीकार्नुपर्छ,’ उनले भने।
वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल २०८३ असार ५ गते सकिने छ। तर एन्फाले आगामी माघ २८ गते झापामा करिब ५ महिना अघि नै कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरिसकेको छ,जसको कारण आलोचना बढिरहेको छ।