पुस मसान्तसम्म सेवाग्राहीले अदालतबाट गुज्रिएको म्याद लिन पाउने
सर्वोच्चको बृहत पूर्ण इजलासले सर्वोच्च प्रशासनको आन्तरिक प्रतिवेदनमाथि सम्बोधन गर्दै अदालतबाट सूचना प्रवाह भएको ६० दिनभित्र म्याद बुझ्न पाउने व्यवस्था गरेको हो। मुद्दामा तारिखको म्याद गुज्रिएपछि सेवाग्राहीहरुमा अन्योल उत्पन्न हुँदै आएको थियो।
काठमाडौं, पुस १८ : सर्वोच्च अदालतले आगामी पुस मसान्तसम्म अदालतका सेवाग्राहीहरूका लागि गुज्रिएको म्याद लिन पाउने सुविधा दिएको छ।
जेनजी आन्दोलनका कारण सर्वोच्च अदालतमा विचाराधीन रहेका मुद्दाको फाइल जलेपछि सेवाग्राहीको मर्कालाई ध्यानमा राखेर सर्वोच्चबाट यस्तो व्याख्या आएको हो।
सर्वोच्चको बृहत पूर्ण इजलासले सर्वोच्च प्रशासनको आन्तरिक प्रतिवेदनमाथि सम्बोधन गर्दै अदालतबाट सूचना प्रवाह भएको ६० दिनभित्र म्याद बुझ्न पाउने व्यवस्था गरेको हो। मुद्दामा तारिखको म्याद गुज्रिएपछि सेवाग्राहीहरुमा अन्योल उत्पन्न हुँदै आएको थियो।
आगजनीबाट सबैजसो मुद्दाको मिसिल जलेर नष्ट भएकाले सर्वोच्च अदालतले हदम्याद, म्याद र तारिखका लागि गत मंसीर मसान्तसम्मको समयसीमा तोकेको थियो। मुद्दामा कागजात बुझाउन ६० दिनको समय दिने, तर सेवाग्राहीलाई तारिखका लागि ३० दिनमात्रै समय दिने प्रक्रिया नमिलेको भन्दै कानुनव्यवसायीले आवाज उठाउँदै आएका थिए।
उक्त अन्योल हटाएर ठोस निकास दिन सर्वोच्चमा प्रधानन्यायाधीश राउतको नेतृत्वमा १९ सदस्यीय बृहत पूर्ण इजलास गठन गरेर पुस मसान्तसम्म तारेखको सुविधा दिने निर्णय गरिएको छ।