राजपुर नगरपालिकामा स्वचालित साइरनः विपद्को पूर्वसूचना अब छिटो पाइने
बाढी, आगलागी, जनावरको आक्रमण, र चट्याङका लागि छुट्टाछुट्टै आवाज (साइरन कोड) निर्धारण गरिएको छ।
रौतहट, पुस १८ : रौतहटको राजपुर नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आफ्नो प्रशासकीय भवनमा आधुनिक स्वचालित साइरन सेट जडान गरेको छ।
रेन परियोजनाको सहयोगमा स्थापित यो प्रणालीले बाढी, आगलागी र चट्याङ जस्ता आपतकालीन अवस्थामा नगरवासीलाई समयमै सचेत गराउनेछ। बाढी, आगलागी, जनावरको आक्रमण, र चट्याङका लागि छुट्टाछुट्टै आवाज (साइरन कोड) निर्धारण गरिएको छ।
नगरपालिकाले मेसेज बक्स, फोन डायल वा एस।एम।एस। मार्फत तत्कालै साइरन सक्रिय गर्न सक्ने प्रविधि मिलाएको छ। ‘एक नम्बर, एक आवाज—सयौंको सुरक्षा’ भन्ने नाराका साथ आकस्मिक सूचना प्रवाह गरी धनजनको क्षति कम गर्ने लक्ष्य राखिएको छ।
प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरका अनुसार, रेन परियोजनाको सहयोगमा जडान गरिएको यस प्रणालीबारे नागरिकलाई बुझाउन र नियमित परीक्षण गर्न नगरपालिका प्रतिबद्ध छ।
नगर प्रमुख डा. राजिक आलमले राजपुर नगरपालिका विपद्को दृष्टिकोणले जोखिमयुक्त क्षेत्र भएकाले यो प्रणाली जीवन बचाउन प्रभावकारी हुने बताए। आधुनिक स्वचालित साइरन सेट जडान गरेपछि विपद् जोखिम न्यूनीकरण हुने पालिकाको अपेक्षा छ।












