‘स्थानहद र पासपोर्ट रोक्काका विषयमा मलाई जानकारी छैन’
‘कानुन बमोजिम गर्ने कुरामा केही आपत्ति छैन तर स्थानहद् किन, के का लागि, के कारणले, कति समयका लागि भनेर मलाई सोध्नु पर्छ कि पर्दैन?’
काठमाडौं, पुस १४ : पूर्वगृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफ्नो स्थानहदबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । आफूले स्थानहदबारे संचारमाध्यममार्फत थाहा पाएको बताए।
‘मेरो स्थानहदबारे मलाई थाहा नै छैन। कुन कानुनमा टेकेर, केका आधारमा गरियो, किन गरियो, मलाई थाहा छैन। कानुन बमोजिम अधिकार सरकारले प्रयोग गर्न पाउँछ,’ उनले भने, ‘कानुन बमोजिम गर्ने कुरामा केही आपत्ति छैन तर स्थानहद् किन, के का लागि, के कारणले, कति समयका लागि भनेर मलाई सोध्नु पर्छ कि पर्दैन?’
स्थानहद हाल कायम छ या छैन पनि आफूलाई थाहा नभएको पनि जानकारी दिए । पासपोर्ट रोक्काको विषयमा पनि आफूलाई थाहा नभएको बताए। उनले स्थानहद र पासपोर्ट रोक्काका विषयमा जाँचबुझ आयोगले आफूलाई जानकारी नदिएको बताए।
‘मलाई देशको संविधान वा अन्य प्रचलित कानुनको कुन व्यवस्था अनुसार, के प्रयोजनका लागि, के औचित्यले, कति अवधिका लागि, किन स्थानहद र राहदानी रोक्का गरेको हो, कुनै लिखित वा मौखिक जानकारीसम्म दिइएको छैन नत मलाई यसबारे सोध्ने वा जवाफ दिने मौका नै दिइएको छ,’ उनले भने, ‘यो विषय निर्णय गर्नु पूर्व र पछि पनि मैले विधिवत रूपमा जानकारी पाउनुपर्ने कुरा विधिको शासन र स्वच्छ सुनुवाइको सिद्धान्तभित्र नै पर्ने हो भन्ने मलाइ विश्वास थियो । तर त्यो भएन।’
नेता लेखकले बिना कारण, बिना जानकारी यस प्रकारका निर्णय वा कार्य गरिनु संविधान एवं कानुनी व्यवस्था विपरीत भएको बताए। उनले यसतर्फ आयोग र सरकारसहित सबै निकायलाई विशेष ध्यानाकर्षण गराउन गराए।












