रुस–युक्रेन शान्ति वार्ता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी
हामी अन्तिम चरणको वार्तामा छौँ। या त युद्ध समाप्त हुन्छ, नभए यो धेरै समयसम्म चल्छ, जुन कसैले चाहँदैन,’ ट्रम्पले भनेका छन्।
वासिङ्टन डिसी, पुस १४ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको शान्ति वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्।
आइतबार फ्लोरिडाको मार–ए–लागोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता सुरु गर्दै ट्रम्पले अब युद्ध समाप्त हुने वा लामो समयसम्म जारी रहनेमध्ये एक अवस्था आउने स्पष्ट पारे।
ट्रम्पका अनुसार यदि अहिले शान्ति सम्झौता हुन सकेन भने युद्ध लामो समयसम्म चल्न सक्ने र अझै लाखौँ मानिसको ज्यान जाने खतरा रहेको छ। ‘हामी अन्तिम चरणको वार्तामा छौँ। या त युद्ध समाप्त हुन्छ, नभए यो धेरै समयसम्म चल्छ, जुन कसैले चाहँदैन,’ ट्रम्पले भनेका छन्।
बन्द कक्षमा हुने वार्ता सुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले यसपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्तिप्रति गम्भीर रहेको विश्वास व्यक्त गरे। जेलेन्स्कीसँग भेटअघि ट्रम्पले पुटिनसँग करिब एक घण्टा १५ मिनेट लामो टेलिफोन वार्ता गरेका थिए।
‘म विश्वास गर्छु कि पुटिन र जेलेन्स्की दुवै शान्ति सम्झौता चाहन्छन्। धेरै मानिसको ज्यान गइसकेको छ, र अब सम्झौता आवश्यक छ,’ ट्रम्पले भने। ट्रम्पले सम्भावित शान्ति सम्झौताका खाका तयार भइसकेको दाबी गर्दै उक्त सम्झौता युक्रेनसहित सबै पक्षका लागि लाभदायक हुने बताए।
‘हामीसँग सम्झौताका आधारहरू छन्। यो युक्रेनका लागि राम्रो छ, सबैका लागि राम्रो छ। यो सबैभन्दा कठिन युद्ध समाधान हो, तर हामी यसलाई सफल बनाउनेछौं,’ उनले भने।












