मार्तडीमा भौतिक संरचना थपिँदै, खेतीयोग्य जमिन मासिँदै
खेतीयोग्य जमिन मासिन थालेपछि कृषि खेतीमा असर परेको हो। उत्पादन राम्रो हुने खेतीयोग्य जमिनमा धमाधम संरचना निर्माण हुन थालेपछि कृषिबाली उत्पादनमा समस्या भएको बडीमालिका नगरपालिका–८ का स्थानीय धने थापाले बताए।
बाजुरा, पुस ११ : बाजुराको सदरमुकाम मार्तडीमा पछिल्लो समय भौतिक संरचनाको निर्माण तिब्र हुन थालेपछि यहाँको खेतियोग्य जमिन मासिँदै गएको छ। सदरमुकामको चारैतिर नयाँ भौतिक संरचनाको निर्माण कार्य धमाधम बढेसंगै यहाँको खेतियोग्य जमिन मासिदै गएको हो।
पहिले यहाँ वरपर सिंगो खेतीयोग्य जमिन खाली देखिने गरेकोमा अहिले चारैतिर भवनहरु भरिभराउ छन् पहिले र अहिलेको सदरमुकामको अवस्थामा आकास पातलको फरक छ। खेतीयोग्य जमिनमा धमाधम संरचना निर्माण हुन थालेपछि खेती गर्ने खेतहरु पनि बिस्तारै मासिँदै गएका हुन्।
खेतीयोग्य जमिन मासिन थालेपछि कृषि खेतीमा असर परेको हो। उत्पादन राम्रो हुने खेतीयोग्य जमिनमा धमाधम संरचना निर्माण हुन थालेपछि कृषिबाली उत्पादनमा समस्या भएको बडीमालिका नगरपालिका–८ का स्थानीय धने थापाले बताए।
राम्रो बालीनाली उत्पादन हुने जमिनमा संरचना निर्माण हुन थालेपछि खाद्य बालीनाली उत्पादनमा संकट आएको उनले जानकारी दिए।



खाली रहेका ठाउँहरुमा कतै संस्थागत कतै ब्यक्तिगत घरहरु निर्माण हुन थालेका छन्। पहिले सदरमुकामको चारैतिर ठुलो मात्रामा खेती लगाएका खेतहरु देखिन्थे।
तर बिस्तारै ती खेतहरु भौतिक संरचनाको रुपमा परिणत भएको अर्का स्थानीय गोरख थापाले बताए। तिब्र रुपमा भइरहेको भौतिक संरचना निर्माणको प्रत्यक्ष असर खेतीयोग्य जमिनमा परेको थापाले बताए।
‘केही वर्ष पहिलासम्म गहुँ, जौँ, धान, फल्ने खेतमा अहिले पक्की भवन बनेका छन्। हरियो खेतका फाँटमा ठुलाठुला घरहरु निर्माण भए । अव्यवस्थित रुपमा भएको विकासको असर खेतीयोग्य जमिनमा परेको छ,’ उनले भने।

केही दशकअघि अन्न उब्जाउ हुने खेतमा अहिले भौतिक संरचना निर्माण भएपछि खेतीयोग्य जमिन तिब्र रुपमा मासिएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । जनसङ्ख्याको आधारमा नयाँ घर बनाउनु, भौतिक पूर्वाधार निर्माण हुने क्रम बढ्नु, ब्यक्तिगत जग्गामा ठूला ठूला संरचना निर्माण हुनाले कृषियोग्य जमिन मासिदै गएको ज्ञान केन्द्र बाजुरा प्रमख जसीराम साहनीको भनाइ छ।
कृषियोग्य जग्गालाई प्लटिङ गर्ने,खेत–खेतमा चौडा सडक पुर्याउने, धमाधम संरचना निर्माण गर्नेलगायत गतिविधिका कारणले खेतीयोग्य जमिन नष्ट भएको सरोकारवालाको बुझाई छ। मार्तडी बजारको वरिपरि रहेको खेतीयोग्य जमिन अहिले पुरै मासिएको छ।

नौंवटै स्थानीय तहका नागरिक मार्तडीमा बसोबास गर्न थालेपछि बजार वरिपरि रहेको खेतीयोग्य जमिन मासिएको हो। सदरमुकाम हरेक सेवा सुविधा हुने भएकाले यहाँ बसोबास गर्ने नागरिकको संख्यामा समेत वृद्धि हुँदै गएको छ। पछिल्लो समय मार्तडी बजारको मुहार फेरिए पनि यहाँको खेतीयोग्य जमिन मासिदाँ कृषि उत्पादनमा गिरावट आएको छ।
सदरमुकाम मार्तडी जिल्लाको मुख्य व्यापारीक केन्द्र हो। यहाँबाट माथिल्लो क्षेत्रका स्थानीय तह सगै छिमेकी जिल्ला हुम्ला, मुगु, जुम्लालगायत विभिन्न जिल्लामा खाद्यान्न बाली, अन्य सर–सामान जाने गर्छ। पछिल्ला केही वर्षयता सदमुकाम मात्र नभई सिङ्गो बाजुराको उर्वर भूमि धमाधम मासिँदै गएको छ।

नौंवटै स्थानीय तहमा पहिलेको तुलनामा अहिले उत्पादन घटिरहेका बेला खेतीयोग्य जमिन थप मासिँदै जाँदा कृषि उत्पादनमा चुनौति थपिएको छ। बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिन छ। जसमा कुल खेतीयोग्य जमिन २८ हजार १३५ हेक्टर रहेको छ। यसमध्ये ५,२०० हेक्टर सिञ्चित र २०३० हेक्टर असिञ्चित पाखो खेतीको रूपमा प्रयोग छ।












