भारतीय मजदुरलाई स्वदेश फर्काउन उद्योगीको आग्रह
भक्तपुर, जेठ ७ : इटा उद्योगीहरुले लकडाउनका कारण नेपालमै रोकिएका भारतीय मजदुरलाई स्वदेश फर्काउने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन्।
इटा....

भक्तपुर, जेठ ७ : इटा उद्योगीहरुले लकडाउनका कारण नेपालमै रोकिएका भारतीय मजदुरलाई स्वदेश फर्काउने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन्।
इटाभट्टाको सिजन सकिएपनि लकडाउनका कारण भारतीय मजदुर भक्तपुरका विभिन्न भट्टा उद्योगमै बसिरहेका छन्। अहिले उनीहरुलाई खानबस्न समस्या हुन थालेपछि भारत फर्काउनका लागि पहल गर्न सरकारसँग आग्रह गरेका हुन्।
भक्तपुर इटाभट्टा व्यवयासी संघका अध्यक्ष नातिभाइ ह्योंम्वाका अनुसार, अहिलेसम्म भारतीय मजदुरकलाई सम्बन्धित इटाभट्टा व्यवसायीले नै खानेबस्ने व्यवस्था मिलाउँदै आएका छन्। जुन इटाभट्टामा काम गरेका मजदुर हुन्, त्यही इटाभट्टाको मालिकले दिनेगरेको हप्ताको ६ सय रुपैयाँंको राहत रकमबाट उनीहरुको जेनतेनको गुजारा अहिले चलिरहेको छ।
लकडाउनले समस्यामा परेका ईटाभट्टामा काम गर्ने भारतीय मजदुरलाई व्यवसायीले कामविहीन भएको झन्डै एक महिनादेखि राहतस्वरुप प्रत्येक हप्ता रकम दिइरहेका छन्। तर, लकडाउन लम्बिँंदै जाँदा हप्तैपिच्छे यसरी नै निरन्तर सहयोग गर्न आफूहरुलाई अप्ठेरो भएको भन्दै उनीहरुले स्वादेश फिर्ता पठाउन माग गरेको अध्यक्ष ह्योंम्वाले बताए।
भक्तपुरभरी ८४ वटा इटाभट्टा छन्। त्यसमा दुई हजार नौ सय ४७ जना भारतीय मजदुर कार्यरत छन्। लकडाउनपछि रोकिएका ती सवै मजदुर अहिले इटाभट्टामा नै बसिरहेका छन्।











