डब्लुडब्लुजेद्वारा पत्रकार महिलालाई संसदीय मामिलामा खोजमूलक रिपोर्टिङ तालिम

काठमाडौं, पुस १० : क्रियाशील पत्रकार महिला(डब्लुडब्लुजे)ले पत्रकार महिलाको क्षमता अभिवृद्धिको उदेश्यसहित राजधानीमा तीन दिने तालिम सम्पन्न गरेको छ ।
यूएनडीपीको पीएसपी परियोजनाको सहयोगमा सम्पन्न ‘पत्रकार महिलाका लागि संसदीय मामिलामा खोजमूलक रिपोर्टिङ’ शिर्षकको उक्त तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत २५ जना पत्रकार महिला सहभागी थिए ।
तालिमको पहिलो दिन त्रिभुवन विश्वविद्यालयका लेक्चरर डा.जगत नेपालले संसदको संरचना, कार्य र प्रक्रियाहरुका बारेमा प्रशिक्षण दिए । त्यसैगरि अर्का प्रशिक्षक अन्नपूर्ण पोस्ट्का समाचार सम्पादक नरेन्द्र साउदले संसदीय रिपोर्टिङ र यसका अभ्यासहरु विषयमा प्रस्तुति दिए । दोस्रो दिन पूर्व सञ्चार ताथ सूचना प्रविधि मन्त्री रेखा शर्माले संसदमा लैंगिक मुद्धा र सञ्चार सम्बन्ध विषयक आफ्नो अनुभव सुनाइन् । दोस्रो सत्रमा संघिय संसदअन्र्तगतको राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुँयालले संसद सचिवालय र यसका मुख्य जिम्मेवारीका विषयमा पत्रकार महिलालाई जानकारी दिए ।
तालिमको तेस्रो दिन नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बरिष्ठ पत्रकार शिव गाउँलेले खोज पत्रकारिताको नैतिक मापदण्डका विषयमा प्रशिक्षण दिए भने दोस्रो सत्रमा खोज पत्रकारिता केन्द्रकी पूर्व अध्यक्ष नम्रता शर्माले संसदीय रिपोर्टिङमा खोज पत्रकारिता विषयमा प्रस्तुति दिइन् ।
तालिममा सहभागीहरुलाई यूएनडीपी पीएसपी परियोजनाका नेसनल प्रोजेक्ट म्यानेजर दिला दत्त पन्त, बरिष्ठ पत्रकार नम्रता शर्मा र क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) की पूर्व अध्यक्ष एवं सल्लाहकार शुभेच्छा बिन्दुले प्रमाणपत्र वितरण गरे । कार्यक्रममा यूएनडीपी पीएसपी परियोजनाका नेसनल प्रोजेक्ट म्यानेजर पन्तले संसदको रिपोर्टिङका सन्दर्भमा बोल्दै पत्रकार महिलालाई अब रिपोर्टरभन्दा पनि बढी विज्ञ हुने यात्रामा लाग्न सुझाव दिए ।
संसद एउटा ठूलो खानी भएको र यसमा नखोलिएका विषयहरु धेरै भएकाले अहिलेको समयमा यसमा जसले नेतृत्व लिएर अगाडि बढ्न सक्यो उसैले जित्ने उनले भनाई राखे । ‘तपाईंहरु नेतृत्व लिएर अगाडि आउनुभयो भने यो क्षेत्रमा निकै राम्रो गर्न सक्नुहुन्छ’, पन्तले भने ।
संसदीय मामिलामा खोज पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने, सत्तालाई जवाफदेही र जनतालाई सही सूचना दिने काम गर्ने हुँदा संसदका भित्री प्रक्रिया, निर्णय र प्रभावलाई जनतासामू ल्याउन तालिम आयोजना गरिएको डब्लुडब्लुजेकी अध्यक्ष रामकला खड्काले बताइन् ।
भ्रष्टाचार र आर्थिक अनियमितता, कानुन निर्माणमा स्वार्थको टकराव, संसदीय समितिको कामकारवाही, नीति निर्णयको प्रभावका विषयमा खोजी गरेर पत्रकार महिलाले खोजी रिपोर्टिङ गर्न सक्ने खड्काले जनाइन् ।
यसअघि पनि यूएनडीपीकै सहयोगमा डब्लुडब्लुजेले नेपालको संसद्मा प्रतिनिधित्वको सवालमा महिला सांसदको भूमिका विषयक अध्ययन सम्पन्न गरिसकेको छ ।
तालिममा सहभागी पत्रकार महिलाले तालिम आफूहरुका लागि निकै फलदायि भएको अनुभव सुनाए । तालिमपछि संसदभित्रका पनि लेखासम्बन्धि थुप्रै खोजीका विषयहरु आफूले पत्ता लगाएको सहभागीमध्येकी ममता थापाले बताइन् । डब्लुडब्लुजेले आगामी दिनमा पनि यस्ता खोजीका स्टोरीहरु लेखाउनका लागि पत्रकार महिलालाई हौशला दिनका लागि फेलोशिपका कार्यक्रमहरु राख्न उनले सुझाइन् ।
अर्का सहभागी आरती पौडेलले पनि तालिममार्फत आफूले संसद र त्यहाँ खोजी गर्न सकिने विषयमा धेरै जानकारी पाएको बताइन् ।












