सरकारी टोलीद्वारा जनमत पार्टी कार्यालयको अनुगमन
अनुगमन पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारमन्त्री जगदीश खरेलले जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा रहेको बताए।
काठमाडौं, पुस ९ : सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जनमत पार्टी कार्यालयको अनुगमन गरेको छ।
बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले मध्यबानेश्वरस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो।
अनुगमनका क्रममा जनमत अध्यक्ष सीके राउतलगायतका नेताहरूसँग छलफल समेत गरेका छन्। अनुगमन पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारमन्त्री जगदीश खरेलले जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा रहेको बताए।
‘चुनावको वातावरण तयार गर्नको लागि सरकारको तर्फबाट हामी महत्वपूर्ण मुख्य राजनीतिक दलहरुको पार्टी कार्यालयमै आएर छलफल र कुराकानी गरेका छौं। जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा रहेको भनेर अध्यक्ष ज्यू ले जानकारी गराउनु भएको छ,’ उनले भने, ‘फागुन २१ मा सरकारले चुनाव गर्दैछ।’












