क्वारेन्टाइनमा बसेको २० दिनसम्म परीक्षण नगरेपछि कपिलवस्तुबाट ११ जना भागे
कपिलवस्तु, जेठ ७ : यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टाइनबाट ११ व्यक्ति भागेका छन्। सोमबार तीन र मंगलबार आठ गरी ११ जना भा....

कपिलवस्तु, जेठ ७ : यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टाइनबाट ११ व्यक्ति भागेका छन्। सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन्।
भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए। पन्ध्र दिनको क्वारेन्टाइन अवधि पूरा भए पनि किट अभाव भन्दै करीब २० दिनसम्म परीक्षण नगरिएपछि उनीहरु भागेको उनले बताए। उनले भने, 'संघ र प्रदेश सरकारले समयमै परीक्षण किट उपलब्ध गराउन नसक्दा समस्या झन् बल्झिएको छ।' खेतीको समय रहेकाले उनीहरु भागेको हुन सक्ने वडा नम्बर ६ का वडाध्यक्ष श्यामनारायण उपाध्यायले बताए। दुई दिनमा गरी ११ जना भागेपछि खोजी गर्न प्रहरीचौकी रंगपुर, प्रशासन र गाउँपालिकालाई पत्राचार गरिएको वडाध्यक्ष उपाध्यायले बताए।
गत शनिबार मात्रै यशोधरा ८ को खोरियास्थित सरस्वती प्राथमिक विद्यालय र सिहोखोरस्थित राष्ट्रिय निमाविमा रहेका ४६ जना क्वारेन्टिनबाट भागेका थिए। उनीहरुलाई भागेको दुई दिनपछि फर्काएर पुनः सरस्वती विद्यालयमा निर्मित क्वारेन्टाइनमा राखिएको छ।
त्यस्तै सोमबार राति वडा नम्बर ५ को अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट समेत चार जना भागेका थिए। भागेका सबैलाई पुनः क्वारेन्टिनमा ल्याइएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले जानकारी दिए। क्वारेन्टाइन सञ्चालन गरिएका कतिपय स्थानमा पङ्खालगायत सुविधा र समयमै स्वाब परीक्षणको व्यवस्था नहुँदा क्वारेन्टाइनमा राख्न समस्या भएको संयोजक ज्योति दुबेले बताए।
कपिलवस्तुमा अहिलेसम्म ४७ कोरोना संक्रमित भेटिएका छन्। कपिलवस्तुका दश स्थानीय तहका क्वारेन्टाइनमा सात हजार ४५१ जना छन्। हालसम्म क्वारेन्टाइनमा बसेर एक हजार ८०४ जना डिस्चार्ज भएका छन्। जिल्लामा पीसीआरका लागि आवश्यक पर्ने एक हजार ७६५ भिटिएम किट उपलब्ध भएकामा करीब एक हजार चार सय जनाको स्वाब संकलन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।











