वीरेन्द्र र ज्ञानेन्द्र दुवैका विश्वास पात्र मण्डल रहेनन्
तत्कालिन राजा ज्ञानेन्द्रको शासन समाप्त भएपछि मण्डल मण्डल पनि गुमनाम बने । तीनै समयका चर्चित पात्र मण्डलको मंगलबार ८८ वर्षको उमेरमा निधन भएको छ।
काठमाडौं, पुस ८ : मुलुकमा गणतन्त्र स्थापना हुनुअघिसम्म सत्ताको केन्द्रमै रहने पात्र मध्येका एक थिए, बद्रीप्रसाद मण्डल। उनले पञ्चायदेखि गणतन्त्रसम्म आइपुग्दा लामो आरोहअवरोह खेपे।
पञ्चायती कालमा मात्र नभै बहुदल कालमा पनि मण्डल राजनीतिको केन्द्रमा छाइरहने व्यक्ति हुन्। तत्कालिन राजा ज्ञानेन्द्रको शासन समाप्त भएपछि मण्डल मण्डल पनि गुमनाम बने । तीनै समयका चर्चित पात्र मण्डलको मंगलबार ८८ वर्षको उमेरमा निधन भएको छ।
सोमबार रातिसम्म मण्डलको स्वास्थ्य अवस्था सामान्य रहेका मण्डल मंगलबार विहान ओछ्यानमै वितेको परिवारका सदस्यले बताएका छन् । मण्डल मोरङको जहदा गाउँपालिका–२ मझारेका बासिन्दा हुन् । उनी २०३६ सालदेखि पञ्चायती राजनीतिमा उदाएका थिए । जतिबेला वीरेन्द्र राजा थिए । पञ्चायतमा पनि शक्तिमा रहन सफल नेता रहेको मण्डललाई नजिकबाट चिन्ने नेताहरु बताउँछन् । २०६२–६३ को जनआन्दोलनपछि गणतन्त्रकालमा भने उनी राजनीतिमा निस्क्रिय जस्तै थिए।
२०३६ सालदेखि २०४६ पछिको बहुदलीय संसदीय समयमा पनि लामो समय सत्ता राजनीतिको केन्द्रमा थिए मण्डल । राष्ट्रिय पञ्चायतको सदस्य हुँदै २०४२ सालमा अर्थ राज्यमन्त्री बने । त्यसलगत्त वन मन्त्री भएका थिए । २०४६ को परिवर्तनपछि मण्डल नेपाल सद्भावना पार्टीमा सक्रिय बने। जतिबेला नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष रहेका गजेन्द्रनारायण सिंह थिए।
सिंहको निधनपछि मण्डल केही समय उक्त पार्टीको कार्यवाहक अध्यक्ष बने । २०५१ को मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यसँग मोरङमा उनी पराजित भए। २०५६ सालको संसदीय चुनामा आइपुग्दा आचार्यलाई नै पराजित गरेका थिए मण्डलले।
२०६१ सालपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिएपछि मण्डल सत्ता राजनीतिको केन्द्रमै पुगे । तत्कालिन राजा ज्ञानेन्द्र शाहले आफ्नै अध्यक्षतमा बनाएको सरकारमा मण्डल उपप्रधानमन्त्रीको भूमिकामा थिए। स्वर्गबासी मण्डलको परिवारमा दुई श्रीमती, तीन छोरा र तीन छोरी छन् । चार छोरा रहेकोमा एक छोराको निधन भइसकेको छ।












