मुलुकका निम्ति जेजस्ता आक्षेपहरू खेप्न पनि तयार छौं : प्रधानमन्त्री कार्की
राजनीतिक दलहरू जनताको सेवक रहेको बताउँदै जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू पनि सच्चिन जरुरी रहेको समेत उनले बताइन्।
काठमाडौं, पुस ७ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका निम्ति सरकार आक्षेप खेप्न तयार भएको बताएकी छन्। सर्वपक्षीय छलफलमा उनले आफूहरू सबैतिरको आलोचना खेप्ने अचानो नभएको पनि बताइन्।
अन्तरिम सरकारमाथि अहिले जेनजी, राजनीतिक दलहरू सबैले प्रहार गरिरहेको पनि प्रधानमन्त्री कार्कीले बताइन्। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनापछिको आवेग आफूहरूले सहिरहेको भनाई कार्कीको थियो।
राजनीतिक दल देशको लागि सर्वेसर्वा नभएको बताउँदैसबैभन्दा पहिला जनता हुने प्रधानमन्त्री कार्कीको भनाई थियो। राजनीतिक दलहरू जनताको सेवक रहेको बताउँदै जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू पनि सच्चिन जरुरी रहेको समेत उनले बताइन्।
‘यहाँ सबैभन्दा ठुलो महान् भनेको जनता हो। राजनीतिक दलहरू भनेको दोस्रो कुरा हो । राजनीतिक दलहरू जनताको सेवा गर्न बसेको हो। जनता के चाहन्छन्? अहिलेको भावना के हो? भदौ २३ र २४ मा जुन किसिमको मुभमेण्ट भयो, हत्या र हिंसा भयो । नाबालकहरू मारिए। त्यसले जनतामा प्रभाव परेको छ,’ उनले भनिन्, ‘जेनजीले के खोजेको, युवापुस्ताले के खोजेको ? हामीले त विचार गर्नुप¥यो। मेरो गोरुको बाह्रै टक्का भनेर न हामी सफल हुन सक्छौँ, न सफलताको मार्ग हो।’
यतिबेला जनताले परिवर्तन खोजेको बताउँदै राजनीतिक पार्टीले पनि सच्चिनुपर्ने उनको भनाई छ।
उनले आलोचनाको पात्र जेनजी र राजनीतिक दल दुबैतर्फबाट भएको बताउँदै अघि भनिन्, ‘हामी अचानो त होइनौँ। हामीले जे सहनुपरिरहेको छ, जे भोग्नुपरिरहेको छ, जुन किसिमको आक्षेपहरू खपिरहेका छौँ, त्यो तयार छौँ, किनभने मुलुकको निम्ति।’
आफूहरू जेनजीका रगतमा ऐस आराम गर्न नआएको समेत बताइन्। सबै राजनीतिक दलहरू एकताबद्ध भएर शान्ति चाहे कसैले केही गर्न नसक्ने दाबी प्रधानमन्त्री कार्कीको थियो।












-1766411815.jpg)