कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री
अर्थमन्त्री खनालले भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाल अनिश्चितताको भूमरीमा फस्यो अर्थतन्त्र ध्वस्त भयो भन्ने अवस्थाबाट ९० दिनको अवधिमा निकै छिटो गतिले पुनःउत्थान, पुननिर्माण र आशा जगाउने बाटोमा अगाडि बढेको पनि बताए।
काठमाडौं, पुस ३ : अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो तीन महिनाको अवधिमा करिब करिब १० प्रतिशतको हाराहारीमा कर एवम राजस्व वृद्धि भएको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित गोरखापत्र डिस्कोर्समा उनले आर्थिक गतिविधि लयमा फर्किएको भन्दै असोज, कार्तिक, मंसिर र पुषको आजको अवधिसम्म आइपुग्दा करिब १० प्रतिशतको हाराहारीमा कर, राजस्व वृद्धि भएको बताए।
‘अर्थतन्त्रमा आर्थिक गतिविधिहरु चलायमान छन् कि छैनन्, उत्पादनका कामहरु बढेका छन् कि छैनन्, आम उपभोक्ताको मनोबल बढेको छ कि छैन भन्ने सूचकहरु मूलभूत रुपमा सरकारको कर र राजस्व संकलन साथै भन्सारमा भइरहेको संकलनले संकेत गर्छ,’ उनले भने, ‘यी सबै हेर्दा गएको तीन महिनाको अवधिमा भदौ महिनामा अलि कम भएपनि असोज, कार्तिक, मंसिर र पुषको आजको अवधिसम्म आइपुग्दा करिब करिब १० प्रतिशतको हाराहारीमा कर, राजस्व वृद्धि भएको देखिन्छ।’
अर्थमन्त्री खनालले भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाल अनिश्चितताको भूमरीमा फस्यो अर्थतन्त्र ध्वस्त भयो भन्ने अवस्थाबाट ९० दिनको अवधिमा निकै छिटो गतिले पुनःउत्थान, पुननिर्माण र आशा जगाउने बाटोमा अगाडि बढेको पनि बताए।
‘भदौ २३ र २४ गतेको अवस्था पार गरेर आजसम्म आइपुग्दा रिकभरीको शान्त तरिकाले बहस गर्ने अवस्थामा आइपुगेका छौं। यो नेपालीहरुको कुनैपनि संकटबाट तत्काल मुक्त हुने सामथ्र्यको एउटा प्रतिक हो। यस्तो प्रतिकले के पनि संकेत गर्छ भने हाम्रा आर्थिक गतिविधिहरु चलायमान छन्,’ उनले भने, ‘दुई घटनापछि एक हप्तामा नेपालीहरुले अनुमानमा अनिश्चितताको भूमरीमा फस्यो, अर्थतन्त्र ध्वस्त हुन्छ र नागरिकहरु बिचल्लीमा हुन्छ भन्ने थियो तर ९० दिनको अवधिमा निकै छिटो गतिले पुनःउत्थान, पुनःनिर्माण र आशा जगाउने बाटोमा अगाडि बढेका छौं।’
पर्यटकको संख्या पनि बढ्दै गएको पनि उनको भनाई छ। सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा।विश्व पौडेलले सरकारले ठूलो खर्च गर्न आँट गर्नसक्ने हो भने बैंकिङ् क्षेत्रबाट सहयोग गर्न तयार रहेको बताएका छन् ।
उनले भने, ‘सरकारले ठूलो खर्च गर्न आँट गरोस । बैंकिङ् क्षेत्रबाट हामीले गर्नुपर्ने सहयोग गर्छौ भनेर भनिरहेका छौ । उर्जा क्षेत्र, यातायातमा पनि खर्च गर्न कोशिस गरौं । यातायात पनि यो भन्दा धेरै राम्रो बनाउन सकिन्छ । यसमा धेरै सम्भावना छ । त्यसको लागि राष्ट्र बैंकबाट पनि सहजीकरण गर्न तयार छौं ।’ उनले सबै व्यवसायीहरुलाई उच्च मनोबल लिएर काम गर्न आग्रह गर्दै यो भन्दा प्रतिकूल अवस्थामा पनि देशहरु चलिरहेको पनि बताए ।












