विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरुपश्चिमसँग खेल्ने
बिहीबार त्रिवी स्टेडियममा भएको क्वालिफायर २को खेलमा विराटनगर किंग्समाथि ४० रनको सहज जित निकाल्दै लुम्बिनी फाइनलमा पुगेको हो।
काठमाडौ, मंसिर २५ : लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रियिमर लिगको फाइनलमा प्रवेश गरेको छ। बिहीबार त्रिवी स्टेडियममा भएको क्वालिफायर २को खेलमा विराटनगर किंग्समाथि ४० रनको सहज जित निकाल्दै लुम्बिनी फाइनलमा पुगेको हो।
यो सँगै अब उसले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ। सुदूरपश्चिम क्वालिफायर १ मा विराटनगरलाई नै हराउँदै फाइनल पुगेको हो।
लुम्बिनीले दिएको १३५ रनको झिनो लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ४० रनमै अलआउट भयो। लगातार दोस्रो खेलमा टप अर्डर कोल्याप्स हुँदा विराटनगरले दुवै क्वालिफायर खेल गुमायो। पहिलो क्वालिफायरमा पावरप्लेमा ४ विकेट गुमाएको विराटनगरले लुम्बिनीसँग ३ विकेट गुमाएको थियो।
सामान्य लक्ष्य पछ्याउँदा उसका मार्टिन गप्टिल २, फाफ डु प्लेसिस ३ र लोकेश बम डकआउट हुँदा विराटनगर सुरुबाटै दबाबमा परेको थियो। ऊसका लागि साम हेजलेटले २८ बलमा समान २ चौका र छक्का मद्दतमा ३४ रन बनाउँदा नरेन भट्टले २१ बलमा २१ र मार्चेट डे ल्याङले १७ रन बनाए। अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
विराटनगरलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका तिलक भण्डारीले ३ तथा अविशेष गौतम, रुवेन त्रुम्पेलमन र जेजे स्मिथले समान २ विकेट लिए। शेर मल्लले १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटको क्षतिमा १३४ रन बनाएको थियो। उसका डार्सी सर्टले सर्वाधिक ४५ रन बनाउँदा कप्तान रोहित पौडेलले ३४ र निरोशन डिक्वेलाले २९ र त्रुम्पेलमनले ११ रन बनाए। उसका लागि सर्ट र रोहितले दोस्रो किेटका लागि ६९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
बलिङमा सुवास भण्डारी र प्रतिश जिसील्े समान ३ किवेट लिँदा कप्तान सन्दीप लामिछाने २ विकेट लिए। योसँगै १७ विकेट लिएका उनी सर्वाधिक विकेट लिनेको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्।









-1765629162.jpg)


