Kathmandu Press

कोरोना संक्रमित भेटिएपछि दैलेखको आठबीस नगरपालिका सिल गर्ने तयारी

दुल्लु, जेठ ६ : कोरोना संक्रमित भेटिएसँगै दैलेखको आठबीस नगरपालिकालाई सिल गर्ने तयारी भइरहेको छ।  

आठबीस नगरपालिका- १ सात्तलाका ३५ वर्षी....

कोरोना संक्रमित भेटिएपछि दैलेखको आठबीस नगरपालिका सिल गर्ने तयारी

दुल्लु, जेठ ६ : कोरोना संक्रमित भेटिएसँगै दैलेखको आठबीस नगरपालिकालाई सिल गर्ने तयारी भइरहेको छ।  

आठबीस नगरपालिका- १ सात्तलाका ३५ वर्षीय युवामा सोमबार कोरोना संक्रमण भेटिएपछि मंगलबारदेखि नगरपालिकालाई सिल गर्न लागिएको हो। नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले एक वडादेखि अर्को वडासम्म आवत–जावत नहुने गरी नगरपालिकालाई सिल गर्ने तयारी भइरहेको बताए।

लकडाउनको ५६ औँ दिनमा कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमित दैलेखमा भेटिएका हुन्। शनिबार स्वाब संकलन गरी सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा परीक्षण गर्दा ती युवामा कोरोना संक्रमण देखिएको थियो । थप पुष्टिका लागि बाँकेको भेरी अस्पतालको प्रयोगशालामा स्वाब पठाउँदा पनि उनमा कोरोना पोजेटिभ देखिएको थियो। भारतको आगरास्थित कोल्ड स्टोरमा काम गर्ने ती व्यक्ति कोल्ड स्टोरको गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमा नाका वनवासासम्म आएका थिए। वनवासामा ती युवालाई ३५ दिन क्वारेन्टाइनमा राखिएको थियो। 

महेन्द्रनगरबाट गाडी रिजर्भ गरेर उद्धार गरी ल्याएका उनीसहित ३९ जनालाई लक्ष्मी माध्यमिक विद्यालय सात्तालाको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष पर्वसिंह विश्वकर्माले बताए। उनले भने, “यहाँ आउने बेला उनीहरुको आरडिटी परीक्षण गरिएको थियो, त्यसमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो। पछि जेठ ३ गते शनिबार हामीले सबैको स्वाब संकलन गराएर परीक्षण गराउँदा ती युवामा कोरोना पोजेटिभ देखिएको छ।” कोरोना संक्रमण भेटिएको थाहा पाएपछि वडा सिल गरिएको वडाध्यक्ष विश्वकर्माले जानकारी दिए।

प्रकाशित मिति: १४:५४ बजे, मंगलबार, जेठ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्