क्वालिफायर १मा सुदूरपश्चिम र विराटनगर भिड्दै
गत संस्करणको उपविजेता रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक क्वालिफायरमा पुगेको हो। यता, विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो।
काठमाडौं, मंसिर २३ : नेपाल प्रिमियर लिगमा आजबाट प्लेअफका खेलहरू सुरु हुँदैछ।
प्लअफमा क्वालिफायर १ को खेल हुनेछ। जसमा लिगका शीर्ष दुई टिम सुदुरपश्चिम रोयल्स र विराटनर किंग्स भीड्ने छन्। खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुँदैछ।
गत संस्करणको उपविजेता रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक क्वालिफायरमा पुगेको हो। यता, विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो।
सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् भने विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ। लिग चरणमा सुदूरपश्चिम एकमात्र खेल हारेको थियो, त्यो विराटनगरसँगै थियो।
यता, विराटनगरले भने २ खेल हारेको थियो। ऊ चिवतन राइनोज र लुम्बिनी लायन्ससँग पराजित भएको थियो। अन्तिम खेलमा १४८ रनको लक्ष्य १२ ओभरमा चेज गर्दै उसले क्वालिफायरमा स्थान बनाएको हो।
आज हुने खेलको विजेता टोली सोझै फाइनल प्रवेश गर्नेछ। त्यसैले दुवै टिम जित निकाल्दै फाइलन पुग्ने पहिलो टिम बन्न चाहन्छन्।
सुदूरपश्चिमका टप अर्डरका दुई अस्ट्रेलियन खेलाडी क्रिस लिन र जोस ब्राउन आजको खेलमा हुने छैनन्। उनीहरू घर फर्किसकेका छन्। उनीहरुको स्थानमा भारतका सेल्डन ज्याक्सन र पाकिस्तानी मुलका अमेरिकी खेलाडी मुख्तार अहमदलाई ल्याए पनि लिन र ब्राउनको अभाव खड्कने छ। ब्याटिङमा यी दुई मध्ये एक चल्नु महत्वपूर्ण छ।
यता, विराटनगरले भने लिगको अन्तिम खेल खेलेको टिमलाई निरन्तरता दिन सक्ने छ। विराटनगरको ब्याटिङ विदेशी खेलाडीमा निर्भर छ। त्यसैले फाफ डु प्लेलिस, साम हेजलेट र मार्टिन गप्टिलमध्ये २ को ब्याटिङ चल्नु अत्यावश्यक छ। बलिङमा पनि मर्चेन्ट डे ल्याङबाट उसको ठूलो अपेक्षा रहने छ।
आज पराजित हुने टिमले पनि फाइनल पुग्ने अर्को मौका पाउन छ। उसले इलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीचको विजेतासँग टिमसँग क्वालिफायर २मा खेल्ने छ।












