Kathmandu Press

अंपुन चक्रवातले नेपालमा पनि तीन दिन वर्षा र हिमपात

काठमाडौं, जेठ ६ : अंपुन चक्रवातको प्रभावले आगामी तीन दिन देशभरि बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको ....

अंपुन चक्रवातले नेपालमा पनि तीन दिन वर्षा र हिमपात

काठमाडौं, जेठ ६ : अंपुन चक्रवातको प्रभावले आगामी तीन दिन देशभरि बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बङ्गालको खाडीको मध्यभागमा शक्तिशाली चक्रवातका रूपमा अंपुन विकसित भएको छ। चक्रवात अझ शक्तिशाली हुने क्रममा आजदेखि पूर्वी नेपालको मौसम बदली हुने जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि अंपुन चक्रवातको प्रभावले देशैभरि बदली भइ केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपातसमेत हुनसक्नेछ।

यसको प्रभावले बुधबारदेखि देशैभरि बदली भइ मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। “शुक्रबारसम्म देशभर यो प्रणालीको प्रभावले वर्षा हुने र प्रिमनसुनको जस्तो निरन्तर वर्षा भइरहनेछ,” मौसमविद् मानन्धरले भनिन्।

हाल देशको पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ। दिउँसो देशको पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, पश्चिमी भूभागका केही स्थानमा आंशिक बदली रही मध्य तथा पूर्वी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुनेछ।

बुधबार देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रही मध्य र पूर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

बिहीबार देशको मध्य तथा पूर्वी भूभागमा पूर्ण बदली भई मध्य र पूर्वी केही स्थान तथा पश्चिमका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम नौ दशमलव दुई डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ। (रासस)

प्रकाशित मिति: १४:५४ बजे, मंगलबार, जेठ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्