Kathmandu Press

कोभिड–१९ विरुद्धको विश्व एकतालाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री ढकाल

काठमाडौं, जेठ ६ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) का विरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै लैजानुप....

कोभिड–१९ विरुद्धको विश्व एकतालाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री ढकाल

काठमाडौं, जेठ ६ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) का विरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को ७३औँ विश्व स्वास्थ्य महासभालाई गएराति भिडियोमार्फत सम्बोधन गर्दै उनले सर्वव्यापी स्वास्थ्य सुरक्षाका लागि संगठनका सदस्य राष्ट्रहरूले थप एकताबद्ध भई प्रयास गर्नुपर्ने आवश्यकता रहेको बताए।

कोभिड नियन्त्रणमा डब्लुएचओलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायको भूमिका सराहनीय रहेको भन्दै उनले विश्व मानव समुदायको स्वास्थ्य रक्षा गर्न यसले खेलेको ऐतिहासिक भूमिकाको पुनः पुष्टि भएको उल्लेख गरे। उनले कोभिड–१९ महामारीका चुनौतीलाई संयुक्तरूपमा सामना गर्न विश्व समुदायसमक्षसमेत अनुरोध गरे।

'स्वास्थ्य विकासको एक प्रमुख आधार हो। निःसन्देह नै स्वास्थ्यमा गरिने लगानीको महत्व र आवश्यकतालाई यस महामारीले थप पुष्टि गरेको छ,' उनले सम्बोधनमा भने, 'यस महामारीले सबल र सक्षम स्वास्थ्य प्रणालीको आवश्यकता र स्वास्थ्य सामग्रीको आन्तरिक उत्पादनको महत्वलाई समेत उजागर गरेको छ। त्यसैले हाम्रा समग्र प्रयासलाई सघन बनाउन सबैको सहयोगको अपेक्षा राखेको छु।' उनले कोभिड–१९को विश्वव्यापी महामारीका सन्दर्भमा हामी निकै कठिन घडीबाट गुज्रिरहेकाले धेरै जोखिम र अनिश्चितता रहेको बताए।  

मन्त्री ढकालले कोभिड–१९ बाट हालसम्म नेपालमा दुईजनाको ज्यान गएको छ भने संक्रमितको संख्या केही दिनयता बढ्दो क्रममा रहेको उल्लेख गर्दै नेपालका लागि आउँदा दिनहरू थप चुनौतीपूर्ण हुन सक्ने धारणा राखे। नेपालले महामारीको शुरुआतदेखि नै उच्च राजनीतिक प्रतिबद्धताका साथ बहुपक्षीय संयन्त्रमार्फत यस विपद्को प्रतिकार्य गर्दै आएको भन्दै उनले नेपालमा संघीय प्रणाली संस्थागत हुँदै गइरहेको अवस्थामा कोभिडको नियन्त्रण र रोकथाममा तीनै तहबाट गरिएका संयुक्त प्रयासहरू सराहनीय भएको बताए।   

मन्त्री ढकालले विश्वभरि महामारीविरूद्ध अग्रपङ्तिमा रही निरन्तर खटिरहेका सम्पूर्ण स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन्। 'कोभिडलगायत यस्ता संक्रामक रोगको कुनै सिमाना हुँदैन र यसले कुनै रङ्ग, समूह र वर्गबीच विभेद गर्दैन,' उनले भने, 'त्यसैले सबैको स्वास्थ्यको अधिकार सुनिश्चित गर्नु हामी सबैको साझा दायित्व हो।'

प्रकाशित मिति: १२:१२ बजे, मंगलबार, जेठ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्