६८ संक्रमित देखिएको नरैनापुर अनिश्चितकालका लागि सिल
बाँके, जेठ ६ : बाँकेको नरैनापुर गाउँपालिका अनिश्चितकालका लागि सिल गरिएको छ। जहाँ अहिलेसम्म ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
सोमबार....

बाँके, जेठ ६ : बाँकेको नरैनापुर गाउँपालिका अनिश्चितकालका लागि सिल गरिएको छ। जहाँ अहिलेसम्म ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
सोमबार एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा सिल गरेको हो। जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।
सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिकामा ६ वटा वडा छन्। यसको उत्तरपूर्वमा राप्तीसोनारी गाउँपालिका जोडिएको छ।
सङ्क्रमण न्यूनिकरणका लागि गाउँपालिकामा अत्यावश्यक कामबाहेक पूर्ण रुपमा आवतजावत ठप्प हुने गरी बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। उनका अनुसार नरैनापुरमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
नरैनापुरमा सोमबार फेला परेका ५९ जनासहित गाउँपालिकामा मात्रै सङ्क्रमितको सङख्या ६८ पुगेको छ। आइतबार कोरोनाबाट नरैनापुरमा एक जनाको ज्यान गएको थियो।
नरैनापुरमा शुरुमा फेला परेका आठ जनासँगको सम्पर्कमा आएका दुई सय ६३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा सोमबार रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।ल उनका अनुसार, सोमवार सङ्कलित ९३ सहित अझै एक सय १० जनाको स्वाब परीक्षणका क्रममा छ।
यससँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या ९३ पुगेको छ। सोमबार अपराह्न ४७ र राति १० बजेपछि १२ जना गरी ५९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो। यसअघि नेपालगञ्ज उपमहानगरपालिका८ मा २४ र वडा नं. ७ मा एक गरी २५ जनामा सङ्क्रमण देखिएको थियो।
बाँकेमा पहिलो पटक फेला परेका नेपालगञ्जका २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा राखेर उपचार भइरहेको छ भने नरैनापुरमा फेला परेका आठ जनालाई दाङमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
सोमबार पुष्टि भएका ५९ जनालाई नरैनापुरमै रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य चौकीमा राखिएको छ। उनीहरुको अहिले त्यहि उपचार भइरहेको जनाएको छ।











