सरकारले प्रयोग गरेको आरडीटी किट गुणस्तरहीन भएको मन्त्रालयबाटै पुष्टि
काठमाडौं, जेठ ५ : कोरोना परीक्षणका लागि सरकारले बजार मूल्यभन्दा बढी मूल्य तिरेर ओम्नी समूहमार्फत खरिद गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) क....

काठमाडौं, जेठ ५ : कोरोना परीक्षणका लागि सरकारले बजार मूल्यभन्दा बढी मूल्य तिरेर ओम्नी समूहमार्फत खरिद गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) किट प्रयोग गर्न लायक नभएको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वैशाखमा निजी र सामुदायिक अस्पतालका ल्याबलाई कोरोना परीक्षण गर्ने दिन गरेको सिफारिसमा सरकारले नै किनेको चीनको वोन्डफो कम्पनीको आरडीटी किट परेको छैन।
मन्त्रालयले आरडिटी परीक्षणमा ९ कम्पनीका किट प्रयोग गर्ने स्वीकृति दिएको छ। तर, त्यसमा ओम्नीले चीनमा आरडीटी किट किनेको कम्पनीले तयार गरेको किटको गुणस्तर पुगेको छैन।
ओम्नी समूहले चीनको वोन्डफो कम्पनीसँग आरडीटी किट खरिद गरेको थियो। प्रतिगोटा ८ अमेरिकन डलरका दरले ७५ हजार आरडीटी किट खरिद गरिएको थियो। अहिले सरकारले ति सबै किट प्रयोग समेत गरिसकेको छ।
सोमबारसम्म नेपालमा ६९ हजार ५ सय ६० जनाको आरडीटी परीक्षण भइरहेको छ। निजी ल्याबका लागि मन्त्रालयले वोन्डफोबाहेकका कम्पनीका किट प्रयोग गर्न स्वीकृति दिएको छ।
मन्त्रालयले वैशाख १४ गते निजी ल्याबलाई आरडीटी परीक्षणको स्वीकृति दिएको थियो। मन्त्रालयले निजी ल्याबलाई बेइजिङ लेपु मेडिकल टेक्नोलोजी (चीन), बेइजिङ केवी क्लिनिकल डाइग्नोस्टिक रेजेन्ट (चीन), बेइजिङ वानटाइ बायोलोजिक मार्फेसी इन्टरप्राइजेज (चीन), बायोक्यान डाइग्नोस्टिक (क्यानडा), सेलेक्स (युएसए), नेन्जिङ भ्याजिम् बायोटिक (चीन), प्यानबायो अबोट (चीन), संघाई लायोङ् रन बायोमेडिसिन टेक्नोलोजी (चीन), झुहाइ लिपजोन डाइग्नोस्टिक (चीन)का किट प्रयोग गर्न स्वीकृति दिएको छ।
मन्त्रालय आफैँ खरिद गरेको कम्पनीको किट प्रयोग गर्न स्वीकृति नदिनुको कारण भने खुलाएको छैन। यसबारेमा बुझ्न खोज्दा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा र सह–प्रवक्ता समिरकुमार अधिकारले बोल्न चाहेनन्।
पीसीआर नभई आरडीटीमात्रै गर्नुको अर्थ छैन
सरकार आफैँले पनि आरडीटी परीक्षण गरिरहेको र निजी ल्याबलाई समेत परीक्षण गर्न स्वीकृति दिएपनि यसको विश्वसनियताबारेमा स्वास्थ्य क्षेत्रका विज्ञहरुले नै प्रश्न उठाउँदै आएका छन्।
सरकारले निजी ल्याबलाई आरडीटी परीक्षण गर्ने र त्यसको शुल्क समेत लिन पाउनेगरी स्वीकृति दिएको छ। तर, आरडीटी परीक्षणको रिपोर्टका आधारमा मात्रै कोरोना परीक्षणको पुष्टि हुँदैन। त्यसैले बिरामी मर्कामा पर्ने र दोहोरो खर्च हुने संक्रामक रोग विशेषज्ञ डा. ल्हामु याङ्चेन शेर्पाको भनाइ छ।
‘आरडीटी प्रभाइभेट सेक्टरले गर्न पाउने र पैसा पनि लिन पाउने भनेको छ। यो के हो?,’ उनले भनिन्, ‘आरडीटीमा पोजेटिभ आयो भने पुरानो इन्फेक्सन रहेको थाहा पाउने न हो। पुरानो इन्फेक्सन रहेको थाहा पाएपछि पुनः पीसीआर परीक्षण गर्नुगर्छ। यो दोहोरो खर्च हो। यसले नयाँ इन्फेक्सन थाहा हुँदैन।’











