Kathmandu Press

बूढानीलकण्ठको तीन वडा सिल गर्ने तयारी

काठमाडौं, जेठ ५ : काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– १२ बस्ने एक युवतीमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि नगरपालिकाको तीनवटा वडा सिल गर्ने तयारी ग....

बूढानीलकण्ठको तीन वडा सिल गर्ने तयारी

काठमाडौं, जेठ ५ : काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– १२ बस्ने एक युवतीमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि नगरपालिकाको तीनवटा वडा सिल गर्ने तयारी गरिएको छ। 

वडा नं १०, ११ र १२ का जनप्रतिनिधिको संयुक्त बैठकले नगर प्रमुखको सल्लाहबमोजिम आज राति १२ बजेदेखि तीनवटै वडा सिल गर्ने तयारी गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। यस अवधिमा कोही पनि घर बाहिर हिँडडुल गर्न नपाउने विज्ञप्तिमा उल्लेख छ। 

सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१२ स्थित तेन्जिङ चोकमा बसोबास गर्दै आएकी युवतीमा कोरोना भाइरस संक्रमण देखिएपछि उक्त क्षेत्र आजदेखि सिल गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए।

शंकास्पद सातजनामा गरिएको परीक्षणमा एकजनामा संक्रमण देखिएको छ भने तीनजनाको परीक्षण नतिजा नेगेटिभ देखिएको छ। तीनजनाको नतिजा आउन बाँकी छ। पीसीआर परीक्षण पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ। युवतीको सम्पर्कमा आएका १५ जनाको पीसीआर परीक्षण गर्ने बताइएको छ। 

युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएको परिवारले जनाएको छ। युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो। 

बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौं आएका १२ जनालाई बूढानीलकण्ठ नगरपालिका–६ स्थित छहारी भवनमा राखिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए। भारतको विभिन्न ठाउँ हुँदै नेपालको सिमासम्म आइपुगेका ती व्यक्ति नेपालगञ्जमा रहेको क्वारेन्टाइमा बसी पत्रसहित सम्बन्धित जिल्ला पठाउने क्रममा काठमाडौं आइपुगेका थिए।

नेपालगञ्जबाट काठमाडौं आएका उक्त व्यक्तिको आरडिटी परीक्षण पहिले नै गरिएको भएतापनि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्नुपर्ने भएकाले उनीहरुलाई क्वारेन्टाइमा राखिएको नगर प्रमुख खरेलले बताए। क्वारेन्टाइनमा राखिएकाहरु काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, रसुवा, नुवाकोट र सुर्खेतलगायतका छन्। 

प्रकाशित मिति: १६:३३ बजे, सोमबार, जेठ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्