रवि र छविको ठगी मुद्दामा किन भयो सुनुवाई स्थगित?
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा थुनामा रहेका लामिछाने र जोशीको निवेदनमा उच्च अदालत तुलसीपुरको बुवल इजलासमा पेसी तय भएर पनि स्थगित भएको हो।
बुटवल, मंसिर ४ : सहकारी ठगी र संगठित अपराध मुद्दामा रास्वपा सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीले दिएको पुनरावेदन निवेदनमाथिको सुनुवाइ विहीबार स्थगित भएको छ।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा थुनामा रहेका लामिछाने र जोशीको निवेदनमा उच्च अदालत तुलसीपुरको बुवल इजलासमा पेसी तय भएर पनि स्थगित भएको हो।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले रविको निवेदनको पेसी पाटन उच्च अदालतमा पनि परेकाले स्थगित भएको बताएका छन्। लामिछानेका कानून व्यवसायीबाटै बुटवल इजलासको सुनुवाइ स्थगित गरिदिन निवेदन परेको थियो।
गत कात्तिक २७ गते भएको सुनुवाइमा न्यायाधीशहरू वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मुल अभियोगको सक्कल मिसिल झिकाउने आदेश दिएको थियो।
सर्वोच्चबाट सुरु मिसिलको फाइल प्राप्त नभए पनि जिल्ला अदालतबाट प्रतिलिपि आएपछि बिहीबार पेसी चढाइएको थियो। अदालतले लामिछानेको यो मुद्दालाई प्राथमिकतामा राखेर सुनुवाई अघि बढाएको छ।
लामिछाने र जोशीले बिगोबमोजिमको रकम बुझाई थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेर निवेदन दिएका छन्। सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने र जोशी पुर्पक्षका लागि थुनामा छन्। लामिछानेले सहकारीमा भएको अपचलनबापत आफ्नो भाग बराबर बिगो बुझाए पनि रुपन्देही अदालतले थुनामुक्त नगरेपछि उनी भदौ ९ गते उच्च अदालत पुगेका हुन्।
सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी सरकारले अदालतमा अभियोगपत्र दायर गरेको छ।
उक्त अभियोग दाबी अनुरुपको विगोको चार भागमध्ये आफ्नो भागमा पर्ने एक भाग बराबर कुल दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ लामिछाने र जोशीले बैंक जमानतका रूपमा पेस गरेका थिए। लामिछाने हाल ललितपुरको नख्खु जेलमा छन् भने जोशी भैरहवा कारागारमा छन्।












-(7)-1765197040.jpg)