निर्वाचन सम्बन्धी अध्यादेश ल्याउने प्रधानमन्त्रीको तयारी
‘युवाहरुको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि हामी निर्वाचन सम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू चाल्दै छौं । यसबाट उनीहरूको असन्तुष्टिको राजनीतिक सम्बोधन हुनेछ,’ उनले भनिन्।
काठमाडौं, मंसिर १ : प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचन सम्बन्धी अध्यादेश ल्याउन लागेको जानकारी गराएकी छन्।
सोमबार नागरिक समाजका अगुवासँग भएको छलफलमा यस्तो जानकारी गराएकी हुन्। युवाहरूको असन्तुष्टि सम्बोधन गर्ने गरी अध्यादेश ल्याउन लागिएको भनाई प्रधानमन्त्री कार्कीको थियो।
‘युवाहरुको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि हामी निर्वाचन सम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू चाल्दै छौं । यसबाट उनीहरूको असन्तुष्टिको राजनीतिक सम्बोधन हुनेछ,’ उनले भनिन्।
प्रधानमन्त्रप् कार्कीले नागरिक समाजका नेतासँग जेनजी आन्दोलन गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति रहेको पनि बताइन्। ‘यस बिषयमा आफू प्रष्ट छु,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘जेनजी आन्दोलनलाई हामीले केवल कानुन व्यवस्थाको विषय मात्र मानेका छैनौं । यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो।’
यही असन्तुष्टीका कारण कतिपय युवा पुस्ता नयाँ व्यवस्थाको भाष्यतर्फ आकर्षित भइरहेको जोखिम देखेको पनि उनले बताइन्। सोही कारण अध्यादेश ल्याउने तयारीमा सरकार रहेको भनाई प्रधानमन्त्री कार्कीको थियो।