सिसडोलमा फोहोर विसर्जन गर्न अवरोध गरे बल प्रयोग गर्छौः प्रमुख जिल्ला अधिकारी
काठमाडौं, जेठ ५ : ककनी गाउँपालिकाले एम्बुलेन्सबाहेक सवारी आवत–जावतमा रोक लगाएपछि काठमाडौंको फोहोर सिसडोलमा विसर्जन गर्न अवरोध पुगेको छ। गा....

काठमाडौं, जेठ ५ : ककनी गाउँपालिकाले एम्बुलेन्सबाहेक सवारी आवत–जावतमा रोक लगाएपछि काठमाडौंको फोहोर सिसडोलमा विसर्जन गर्न अवरोध पुगेको छ। गाउँपालिकाले विज्ञप्ती जारी गर्दै एम्बुलेन्सबाहेका अन्य सवारी आवागमनमा रोक लगाएको हो।
गाउँपालिकाको उक्त निर्णयप्रति काठमाडौं महानगरपालिकाले चिन्ता व्यक्त गरेको छ। ‘लकडाउनको अवज्ञा गर्दै उपत्यका आवतजावतले कोरोना संक्रमित बढेर उपत्यका अशान्त भइरहेको समयमा फोहोर विसर्जनमा भएको अवरोधले थप समस्या भएको छ,’ काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले भने, ‘ककनी गाउँपालिकाले अति आवश्यक एम्बुलेन्सबाहेक सवारी आवत–जावतमा रोक लगाएको सूचना जारी गरेको छ। फोहोर बोक्ने गाडी अत्यावश्यक भित्रै पर्छन्। तर, सवारी आवत–जावतमा रोक लगाउने नाममा उपत्यकाबाट फोहोर बोकेर जाने गाडीहरुलाई समेत अवरोध गरेका कारण फोहोर व्यवस्थापनमा थप समस्या भएको छ।’ लकडाउनको वेवास्था गर्दै विभिन्न जिल्लाबाट हुने आवतजावतले उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको समयमा गाउँपालिकाको उक्त कार्यले थप समस्या भएको श्रेष्ठको भनाई छ।
उनले गाउँपालिकाको कुनै माग भए महानगरपालिका बसेर छलफल गर्न तयार रहेको भन्दै फोहोर व्यवस्थापनमा अवरोध गरेको कुरा उचित नभएको बताउँछन्। ‘तर, विभिन्न बाहनामा फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित होइन जस्तो लागेको छ,’ उनले भने, ‘जनप्रतिनिधिले नै विज्ञप्ति निकालेर अवरोध गर्ने कुरा झन दुखद् हो । त्यसलाई जतिसक्दो छिटो हल गर्नुपर्छ।’ उनले त्यहाँका जनप्रतिनिधि र स्थानीयलाई छलफलका लागि बोलाएको पनि जानकारी दिए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पनि विभिन्न बाहनामा फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित नभएको बताए। ‘ककनी गाउँपालिकाले विज्ञप्ति नै निकालेर सवारी आवत–जावतमा रोक लगाई सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘विभिन्न बाहनामा लकडाउनको समयमा फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित होइन। मैले नुवाकोटका जिल्ला प्रमुख र ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेको छु। उहाँहरुका माग के–के हुन् । व्यवस्थापनका लागि छलफल गर्न सकिन्छ। तर, फोहोर नै रोक्ने कुरा हुँदैन्।’
प्रमुख दाहालले माग पुरा गर्न तयार हुँदा हुँदै पनि अवरोध भएमा बल प्रयोग गरेर भए पनि उपत्यकाको फहोरो विसर्जन गर्ने बताए। ‘सिसडोलबासीले फोहोर विसर्जनमा पटक–पटक अवरोध गरेर समस्या सिर्जना गरेको कुरा सबैलाई जानकारी नै छ। त्यहाँका स्थानीयले विभिन्न बाहनामा फोहोरो विसर्जनमा अवरोध गर्ने र काठमाडौं महानगरपालिकाले उहाँहरुका माग पटक–पटक सम्वोधन गर्ने र फोहोर विसर्जन गर्दै आएको छ,’ उनले भने, ‘पछिल्लो समस्याका बारेमा मैले त्यहाँका जनप्रतिनिधि र नुवाकोटका प्रमुख जिल्ला अधिकारीसँग पनि समन्वय गरेको छु। त्यहाँका जनप्रतिनिधिले स्थानीयका केही माग रहेको जानकारी गराउनु भएको छ। उहाँहरुको माग सम्वोधनका लागि काठमाडौँ महानगरपालिकाले छलफल गर्न तयार रहेको छ।’
ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलबासीले कोरोना संक्रमणको डर बढेकोले स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भए अवरोध तत्काल खोल्ने जानकारी दिए।
काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ। त्यो उत्पादित फोहोर विसर्जन नहुने हो भने काठमाडौं महानगरपालिकासहित अन्य नगरपालिका पनि दुर्घन्धित हुने र संक्रमणको खतरा बढी हुने भन्दै उपत्यकाका जनप्रतिनिधिले पनि फोहोर व्यवस्थापनमा समस्या सिर्जना गर्नु नहुनेमा जोड दिएका छन्।











