नवाैँ अक्षरा मोडेल युनाइटेड नेसन्स-२०८२ सम्पन्न
काठमाडाैं उपत्यकाभित्रका विभिन्न नाैवटा विद्यालयका माध्यमिक तहका २०५ जना विद्यार्थीसम्मिलित तीन दिने एएमयुएन आइतबार सम्पन्न भएकाे हाे।
काठमाडाैं, कात्तिक ३० : नवाैँ अक्षरा मोडेल युनाइटेड नेसन्स (AMUN) विभिन्न प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको छ। काठमाडाैं उपत्यकाभित्रका विभिन्न नाैवटा विद्यालयका माध्यमिक तहका २०५ जना विद्यार्थीसम्मिलित तीन दिने एएमयुएन आइतबार सम्पन्न भएकाे हाे।
आयाेजक अक्षरा स्कुलका १०८ जना विद्यार्थीसहित वेदिक स्कुल, स्प्रिङहिल स्कुल, दीक्षालय, रिलायन्स पब्लिक स्कुल, न्यू स्टारपाेल, शिक्षालय नेपाल, मातृभूमि र गाेल्डेन वड स्कुलका गरी २०५ जना विद्यार्थी सहभागी भएका थिए। सहभागी विद्यार्थीहरूले AMUN वैश्विक समस्याकाे समाधान खाेज्ने, विचार र अनुभव साटासाट गर्ने, आपसमा भाइचारा सम्बन्ध अघि बढाउँदै सञ्जाल विस्तार गर्ने उत्कृष्ट मञ्च भएकाे बताए।
व्यवसायी तथा पद्मज्याेति ग्रुपका अध्यक्ष साैरभ ज्याेतिको प्रमुख आतिथ्यमा शुक्रबार औपचारिक उद्घाटन भएकाे थियाे। तीन दिनसम्म भएका कार्यक्रमका विभिन्न सत्रहरूमा प्रतिनिधिहरूले 'संयुक्त राष्ट्र सुरक्षा परिषद्', 'सामाजिक, मानवीय र सांस्कृतिक मुद्दा समिति', 'संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक परिषद्', 'लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि संयुक्त राष्ट्र संघ', 'संयुक्त राष्ट्र मानव अधिकार परिषद्', 'शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त', 'संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम', 'अपराध रोकथाम तथा फौजदारी न्याय आयोग' र 'अन्तर्राष्ट्रिय प्रेस' गरी नाैवटा कमिटीमार्फत प्रस्ताहरू प्रस्तुत गरी छलफल तथा प्रश्नाेत्तरका माध्यमले पारित गरेका थिए। प्रत्येक कमिटीबाट उत्कृष्ट सहभागीलाई पुरस्कार तथा प्रमाणपत्र पदान गरिएकाे थियाे।

कार्यक्रमको संयोजनसमेत कक्षा १० का विद्यार्थीहरू आफैँले गरेका थिए। उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी तथा अभिभावकहरूले प्रत्येक दिन एएमयुएनका सत्रहरूकाे अवलाेकनसमेत गरेका थिए।
विद्यार्थीहरूले युएनमा सङ्गठित देशहरूकाे प्रतिनिधि बनी विश्वपरिवेशका समस्या, अन्तर्राष्ट्रिय नीति र दृष्टिकोणका साथै विश्वव्यापी मूल्य र मान्यताकाे अध्ययन, विश्वमा उत्पन्न समस्या र तिनकाे उत्कृष्ट समाधान खाेज्ने प्रयास गरेका थिए। संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) प्रतिनिधि अभिनव सिंह थापा र प्रसुना उप्रेती, शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसीआर) का प्रतिनिधि प्रयुष श्रेष्ठ र एहान न्यौपाने, संयुक्त राष्ट्र संघको अपराध रोकथाम तथा फौजदारी न्याय आयोग (सिसिपिसिजे) का प्रतिनिधि स्वेच्छा कर्ण र रेबाना घिमिरे, संयुक्त राष्ट्र वातावरण कार्यक्रम (युएनइपी) प्रतिनिधि सुभाश्री पाण्डे शुभम्ता एस सुनार, सामाजिक, सांस्कृतिक र मानवीय समिति (एसओसिएचयुएम) प्रतिनिधि सिद्दुब शर्मा बिडारी र कोशिश अधिकारी, आर्थिक तथा सामाजिक परिषद् (इसिओएसओसी)का प्रतिनिधि शिवाली श्रेष्ठ र प्राप्ति रानाभाट, अन्तर्राष्ट्रिय प्रेस (आइपी) का प्रतिनिधि सिन्धी भण्डारी र सुजल विक्रम थापा, संयुक्त राष्ट्र मानव अधिकार परिषद् (युएनएचआरसी) का प्रतिनिधि अरिप्त उपाध्याय र अवनी नेपाल, संयुक्त राष्ट्र संघको लैङ्गिक समानता र महिला सशक्तीकरण निकाय (युएनएमओडब्ल्युइएन) का प्रतिनिधि मलिशा कुशवाहा र तेजस्वी शिवाकोटीलाई प्रमाणपत्रका साथै मायाकाे चिनाे प्रदान गरिएकाे थियाे।

समापन समाराेहमा प्रमुख सल्लाहकार अनमोल घिमिरेले कूटनीति, एकता र सहकार्यको भावनालाई अगाडि बढाउन एएमयुएन सावित भएकाे बताए । समापन समाराेहपश्चात् भएकाे विशेष सांगीतिक कार्यक्रममा विद्यार्थीहरू रमाएका थिए।
‘मोडेल युनाइटेड नेसन्स’ (मुन) संयुक्त राष्ट्रसंघबाट मान्यताप्राप्त एक विद्यालयस्तरीय शैक्षिक मञ्च हो। मुनका माध्यमले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुगाेस् भन्ने उद्देश्यले विद्यालयले विगत ८ वर्षदेखि एएमयुएन सञ्चालन गर्दै आएको छ।

-(56)-1764919423.jpg)











