केन्द्रीय सुरक्षा समितिबाट एकीकृत निर्वाचन सुरक्षा योजना पारित
गत ९ असोजको केन्द्रीय सुरक्षा समिति बैठकले गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ तर्जुमा गर्नका लागि कार्यदल गठन गरेको थियो।
काठमाडौं, कात्तिक ३० : गृह मन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ पारित परेको छ।
गत ९ असोजको केन्द्रीय सुरक्षा समिति बैठकले गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ तर्जुमा गर्नका लागि कार्यदल गठन गरेको थियो। कार्यदलमा सुरक्षा निकायमा प्रतिनिधिहरू समेत थिए।
समितिले गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिलाई बुझाएको थियो । गृहमन्त्री अर्याल नेतृत्वको समितिले सोही प्रतिवेदन पास गरेको हो।
उक्त सुरक्षा योजनामा निर्वाचनको अवधिमा सुरक्षा निकायहरू कसरी परिचालन हुने भन्ने बिषयमा उल्लेख छ । बैठकले नेपाली सेना परिचालनको प्रस्ताव गर्ने निर्णय पनि गरेको छ । एकीकृत निर्वाचन सुरक्षा योजनामा सेना परिचालनको विषय समेत उल्लेख छ।
सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद् समक्ष पेश गर्ने निर्णय समेत भएको छ। आगामी ९ मंसिर प्रदेशस्तरीय सुरक्षा गोष्ठि सुरु गर्ने र लुम्बिनी प्रदेशबाट सुरक्षा गोष्ठी सुरु हुने भनिएको छ।
केन्द्रीय सुरक्षा समितिको बैठकले हिंसा भड्काउने समूहहरूलाई निस्तेज गर्ने र त्यसका लागि कडाइका साथ कारबाही प्रक्रिया अघि बढाउने निर्णयसमेत लिएको छ।












