कोरोना संक्रमितको शव जलाएपछि सफा गरिएको विद्युतीय शवदाह गृह सञ्चालनको तयारीमा
काठमाडौं, जेठ ५ : कोरोना संक्रमणको कारण मृत्यु भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह आजदेखि सञ्चालनमा आउने भएको छ। ....

काठमाडौं, जेठ ५ : कोरोना संक्रमणको कारण मृत्यु भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह आजदेखि सञ्चालनमा आउने भएको छ।
गत शनिबार राति संक्रमित महिलाको शवदाह गरेपछि विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गर्न बन्द गरिएको थियो। सरसफाइपछि आज अपराह्नदेखि विद्युतीय शवदाह गृह पूर्ववत् सञ्चालनमा ल्यााउने गरी तयारी भइरहेको पशुपति क्षेत्र विकास कोषका निर्देशक राजु रेग्मीले बताए।
शवदाहमा संलग्न भएका ६ जना कर्मचारीको पीसीआर परीक्षणसमेत गर्न लागिएको उनले बताए। कोरोना संक्रमितलाई जलाउने क्रममा विद्युतीय शवदाह गृहमा संलग्न कर्मचारीले लगाएको व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) पनि नष्ट गरिएको छ।
सुरक्षाका कारण कोरोना संक्रमितलाई आर्यघाट र भष्मेश्वर घाटमा जलाउन नसकिने कोषले जनाएको छ। विद्युतीय शवदाह गृहमा दुई शव एकैपटक जलाउन सकिन्छ। दुई कोरोना संक्रमण भई निधन भएकाको शव एकैपटक जलाउने गरी तयारी गर्नेलगायत विषयमा कोषले सरकारसँग वार्ता गर्ने भएको छ।
कोरोना संक्रमितको शव जलाउन विद्युतीय शवदाह यन्त्र चलाउने कर्मचारीको समेत अभाव हुन सक्ने देखिएको छ। जम्मा ६ जना कर्मचारीले हाल तालीम लिएर यन्त्र चलाउँदै आएका छन्। पीसीआर परीक्षणपछि कर्मचारीलाई कोरोना पोजेटिभ देखिए अरुलाई तालीम दिन तीन महीना लाग्नेछ।
नेपाली सेनाले सुरक्षितरुपमा विद्युतीय शवदाह गृहसम्म शव ल्याएपछि कोषका तालीम प्राप्त कर्मचारीले मात्र यन्त्र चलाउन सक्छन्। जनशक्ति व्यवस्थापनका विषयमा पूर्वतयारी नभएकाले समस्या पर्नसक्ने जनाइएको छ।
पशुपतिको क्रियापुत्री घर पनि सरसफाइका लागि तीन दिनसम्मका लागि बन्द गरिएको छ। १३ दिनसम्म क्रियापुत्री बसिकेपछि सफाइका लागि तीन बन्द गरेर सरसफाइ गरी पुनः सञ्चालन गर्ने गरिएको छ। क्रियापुत्री एवं भेटघाटका लागि आउने आफन्तमा कोरोना संक्रमण नफैलियोस् भनी यस्तो सतर्कता अपनाइएको कोषले जनाएको छ।











