कोरोना प्रभावित देशमा रुस दोस्रो, २ लाख ८१ हजार संक्रमित
काठमाडौं, जेठ ५ : कोरोना भाइरस संक्रमणले महामारीको रुप लिएका देशको सूचिमा रुस दोस्रो नम्बरमा पुगेको छ। अमेरिकापछि सबैभन्दा बढी कोरोना संक्रमितको संख्य....
काठमाडौं, जेठ ५ : कोरोना भाइरस संक्रमणले महामारीको रुप लिएका देशको सूचिमा रुस दोस्रो नम्बरमा पुगेको छ। अमेरिकापछि सबैभन्दा बढी कोरोना संक्रमितको संख्या रुसमा रहेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार, सोमबार मध्याह्नसम्म रुसमा संक्रमितको संख्या दुई लाख ८१ हजार पाँच सय ७२ पुगेको छ। जसमा दुई हजार ६ सय ३१ जनाले ज्यान गुमाएका छन्।
रुसमा अहिलेसम्म ६७ हजार तीन सय ७३ जना निको भएका छन् भने दुई लाख ११ हजार सात सय १८ जनाको उपचार चलिरहेको छ।
एक महिना अघि ११औ नम्बरमा रहेको रुस लगातार संक्रमण बढ्दै गएपछि दोस्रो नम्बरमा पुगेको हो। केही सातायता रुसमा औषत दैनिक १० हजारका दरले संक्रमित थपिदै गएका छन्।
गत २४ घन्टामा पनि रुसमा नौ हजार सात सय नौ जनामा संक्रमण देखिएको छ। त्यस्तै, ९४ जनाले ज्यान गुमाएका छन्।
रुसमा उच्चपदस्थ अधिकारीहरुलाई समेत कोरोना संक्रमण भएको छ। प्रधानमन्त्री र राष्ट्रपतिका प्रवक्ता समेत कोरोना संक्रमण भएपछि अस्पतालमा उपचार गराइरहेका छन्।
पहिलो नम्बरमा रहेको अमेरिकामा १५ लाख २७ हजार ६ सय ६४ जनामा कोरोना देखिएको छ। जसमध्ये ९० हजार नौ सय ७८ जनाले ज्यान गुमाएका छन्।
अहिलेसम्म अमेरिकामा तीन लाख ४६ हजार तीन सय ८९ जना निको भएका छन्। १० लाख ९० हजार दुई सय ९७ जना उपचाररत छन्।
अहिलेसम्म संसारभर ४८ लाख पाँच हजार दुई सय १० जनामा कोरोना देखिएको छ। जसमध्ये तीन लाख १६ हजार सात सय ३२ जनाले ज्यान गुमाएका छन्।
संक्रमितमध्ये १८ लाख ६० हजार ५० जना निको भएका छन्। अझै २६ लाख २८ हजार चार सय ४६ जनाको उपचार चलिरहेको छ।
छिमेकी भारतमा पनि कोरोना संक्रमितको संख्या ९६ हजार एक सय ६९ पुगेको छ। जसमध्ये तीन हजार २९ जनाले ज्यान गुमाएका छन्। अझै संक्रमण बढिरहेको छ।
नेपालमा पनि कोरोना संक्रमितको संख्या तीन सय चार पुगेको छ। सोमबारसम्म कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन्।
संक्रमितमध्ये ३६ जना निको भएका छन भने दुई सय ६८ जनाको उपचार चलिरहेको छ।











