चुनावअघि महाधिवेशन माग गर्दै कांग्रेसका २४ केन्द्रीय सदस्यले मागपत्र बुझाए
आगामी मंसिरभित्र १५ औं महाधिवेशनको सुरुवात गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका ल्याउन उनीहरुको माग रहेको छ।
काठमाडौं, कात्तिक २८ : नेपाली कांग्रेसका २४ जना केन्द्रीय सदस्यले निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्न माग राखेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई मागपत्र बुझाएका छन्।
आगामी मंसिरभित्र १५ औं महाधिवेशनको सुरुवात गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका ल्याउन उनीहरुको माग रहेको छ।
मागपत्र बुझाउनेमा केन्द्रीय सदस्यहरू राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डा. डिला संग्रौला, उदय शमशेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी र चम्पादेवी खड्का छन्।
मागपत्रमा ‘आसन्न २१ फागुन २०८२ को निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधानबमोजिम २०८२ साल मंसिर महिनाभित्र १५औं महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाएर लागू गर्ने,’ भनिएको छ । १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र नयाँ कियाशील सदस्यता वितरण कार्य सम्पन्न गर्नका लागि समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङग्याउनुपर्ने मागपत्रमा उल्लेख छ।
१५औं महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाति, थारु, मधेशी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवं अपांगता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने र आगामी स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने माग समेत राखिएको छ।
संविधान संशोधनको सन्दर्भमा पनि पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोणसहित पार्टीको अवधारण निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।












