Kathmandu Press

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का 

उनले आफू हरेक कुरामा पारदर्शी र जवाफदेही रहेको भन्दै केही समूहले राजनीतिक प्रतिशोध साँध्ने र चरित्र हत्या गर्ने उद्देश्यले स्काउटसँग आफ्नो नाम जोडेको बताए। 
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का 

काठमाडौं, कात्तिक २८ : नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग आफ्नो स्वामित्व नरहेको बताएका छन्। 

बिहीबार एक विज्ञप्ती जारी गर्दै उनले खड्का ल्याण्डमा आफ्नो स्वामित्व नरहेको बताएका हुन्। 

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग चरित्रहत्या गर्ने उदेश्यले बारम्बार नाम जोडेको पूर्वऊर्जामन्त्री खड्काको भनाई छ। यसले व्यक्तिगत र राजनीतिक जीवनमा आघात पुगेको समेत उनले बताए। 

‘नेपाल स्काउटको भाडा विवादको विषयमा मेरो नाम जोडेर विभिन्न सञ्चार माध्याममा आएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मेरो कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग बारम्बार नाम जोडेर चरित्रहत्या गर्ने उदेश्यले विभिन्न सञ्चार माध्याममा प्रकाशित र प्रसारित समाचारले मेरो व्यक्तिगत र राजनीतिक जीवनमा गम्भीर आघात पुगेको छ,’ उनले भने।

उनले आफू हरेक कुरामा पारदर्शी र जवाफदेही रहेको भन्दै केही समूहले राजनीतिक प्रतिशोध साँध्ने र चरित्र हत्या गर्ने उद्देश्यले स्काउटसँग आफ्नो नाम जोडेको बताए। 

‘केही गिरोहले आफ्नो क्षणिक स्वार्थका लागि मेरो नाम जोडेर बद्नाम गराउने र मेरो राजनीतिक प्रतिसोध साँध्ने खेलमा लागेका छन् । मेरो जीवन खुला किताबजस्तो हो । मेरो हरेक कुरा पारदर्शी र जवाफदेही छ । राज्यको चौंथो अंग रुपमा रहेको सञ्चार जगतले सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशित गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,’ उनले विज्ञप्ति मार्फत भनेका छन्। 

खड्का ल्याण्डले लामो समयदेखि काठमाडौं लैनचौरस्थित नेपाल स्काउटको जग्गामा संरचना बनााएर जग्गाको भाडासमेत नतिरेको विवाद उत्पन्न भएको थियो । त्यससँगै बिहीबार युवा तथा खेलकुद मन्त्रालयले काठमाडौं महानगरको सहायतामा खड्का ल्याण्डको संरचनामा डोजर चलाएको थियो। 

प्रकाशित मिति: १०:२५ बजे, शुक्रबार, कात्तिक २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्