‘मतदान गर्न पाउने विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार हो’
रास्वपा विदेशमा रहेका नेपाली नागरिकहरुले मतदान गर्न पाउनुपर्छ भन्ने कुराको पक्षमा सधैँ रहेको भन्दै अहिले समय उपयुक्तभएकाले यसलाई अझ जोडदार रुपमा सरकार समक्ष प्रस्तुत गर्दै आएको बताए।
काठमाडौं, कात्तिक २७ : राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्लेले नेपालमा हुने निर्वाचनहरुमा मतदान गर्न पाउनु विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार भएको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित ‘विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउने अधिकारको सुनिश्चितताको लागि सैद्धान्तिक र प्राविधिक प्रस्ताव’ बारे छलफलमा उनले निर्वाचनहरुमा मतदान गर्न पाउनु विदेशमा रहेका नेपालीहरुको पनि नैसर्गिक अधिकार भएको भन्दै पछिल्लो समयमा सर्वोच्च अदालतले यसलाई लागू गर्न निर्वाचन आयोगलाई निर्देशन गरेको बताए।
‘विदेशमा रहनु भएका दाजुभाई दिदिबहिनीहरुले नेपालका संघीय निर्वाचन, प्रादेशिक र स्थानीय निर्वाचनहरुमा मतदान गर्न पाउनुपर्छ । यो उहाँहरुको नैसर्गिक अधिकार हो। हाम्रो राजनीतिक दलको मान्यता पनि त्यही हो,’ उनले भने, ‘पछिल्लो समय सर्वोच्च अदालतले पनि पटक पटक निर्देश नै गरिरहेको छ। विदेशमा बस्नुहुने नेपाली नागरिकहरुको पनि नैसर्गिक अधिकारलाई लागू गर्नेतर्फ जान भनेको छ।’
यस्तै, रास्वपा विदेशमा रहेका नेपाली नागरिकहरुले मतदान गर्न पाउनुपर्छ भन्ने कुराको पक्षमा सधैँ रहेको भन्दै अहिले समय उपयुक्तभएकाले यसलाई अझ जोडदार रुपमा सरकार समक्ष प्रस्तुत गर्दै आएको बताए।
अब मतदानको उद्देश्यलाई पूरा गर्न सरकारलाई रास्वपाले प्राविधिक, कानूनी, राजनीतिक पुँजी सबै तरिकाले साथ सहयोग दिन तयार रहेको पनि उनको भनाई छ।
सोही कार्यक्रममा बोल्दै प्रवक्ता मनिष झाले विदेशमा रहेका ६७ प्रतिशत नेपालीहरु मतदान गर्न इच्छुक रहेको र लगभग ४० प्रतिशतले मतदाता नामावलीमा नाम दर्ता गाराइसकेको जानकारी दिए।
३९ देशहरुमा प्राविधिक निर्वाचनको अभ्यास भइसकेको बताउँदै उनले ज्ञान,उदारता, विश्वस्त, स्रोत र कानुनी कुराले नेपालमा लागू हुन नसकेको धारणा राखे।
त्यस्तै, उनले रास्वपाले स्थापनादेखि अहिलेसम्मको यात्रामा सुरुवातदेखि नै प्राविधिक रुपमा निर्वाचन प्रणालीको विषयमा विशेष जोड दिदै आएको बताए ।












