निर्वाचन र आचारसंहिताबारे दलका नेतासँग आयोगमा छलफल

काठमाडौं, कात्तिक २७ : फागुन २१ गतेका लागि तोकिएको निर्वाचन र आचारसंहिताबारे निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिबिच कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा छलफल जारी छ।
चुनावको तयारी र दलहरूको अपेक्षा बुझ्न दलहरुलाई छलफलमा डाकिएको हो। आयोगले बुधबार निर्वाचनको तयारीबारे प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको थियो। छलफलमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा सहभागी छन्।
दलहरूको तर्फबाट नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाल, एमाले नेता खगराज अधिकारी, नेपाल कम्युनिस्ट पार्टीकातर्फबाट लिलामणि पोखरेललगायतका नेताहरू उपस्थित छन्।
आयोगले यसअघि पनि दलहरुसँग छलफल गरेको थियो । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति तोकेपछि आयोगले दलहरूसँगको संबादलाई तिब्रता दिन थालेके छ । एमालेलगायतका कतिपय विपक्षी दलहरूले सरकार निर्वाचनको वातावरण बनाउन गम्भीर नभएको आरोप लगाउँदै आएका छन्।












