Kathmandu Press

जेनजी आन्दोलनमा मैले प्रहरीलाई कुनै आदेश दिएको छैन : लेखक

उनले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताए।
जेनजी आन्दोलनमा मैले प्रहरीलाई कुनै आदेश दिएको छैन : लेखक

काठमाडौं, कात्तिक २६ : निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनकाक्रममा आफुले प्रहरीलाई कुनै आदेश नदिएको बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै लेखकले यस्तो भनाई राखेका हुन्। उनले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताए।

Hardik ivf

राहदानी रोक्का गरेको विषयमा पनि सरकारका तर्फबाट लिखित र मौखिक कुनै पनि जानकारी नगराइएको भनाई लेखकको छ। 

यस्तै, उनले जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी नलिने बताएका छन् । २३ गतेको घटनालाई लिएर बैठकमा ‘ब्रिफिङ’ गर्दै उनले सुरक्षा संयन्त्रलाई आफूले कुनै पनि अप्रिय घटना नहोस् भनेर सजग गराएको समेत बताए। 

‘प्रधानमन्त्री र मन्त्रीले त्यो आदेश दिने विषय पनि होइन, दिनु पनि पर्दैन । मैले ‘क्याजुलिटी’ नहोस् भनेर २२ गते साँझ पनि मिटिङमा भनेको छु । दोस्रो दिन बिहान पनि मैले गृहसचिव र दुवै प्रहरीका आईजीपीलाई ‘क्याजुटिली’ नहोस् ह । ‘क्याजुलिटी’ कुनै पनि हालतमा हुनुहुन्न पटक–पटक भनेको छु । त्यो कुरा नेपाल प्रहरीका महानिरीक्षकले सञ्चारमाध्यममा व्यक्त पनि गर्नुभएको छ,’ लेखकले बैठकमा भने।

उनले सरकारको वा सरकारको कुनै पनि निकायले आजसम्म लिखित रूपमा या मौखिक रूपमा स्थानहद लगाएको र पासपोर्ट रोक्का गरेको जानकारी नभएको पनि बताए। 

‘सूचना दिएको छैन, सोधेको छैन, किन रोक्का गर्ने किन नगर्ने भनेर। कुन संविधान, कुन कानुन कुन ऐनको कुन प्रावधान बमोजिम के औचित्यका लागि के प्रयोजनका लागि, कति अवधिका लागि मलाई स्थान हद गरियो भन्ने कुरा मलाई जानकारी छैन,’ केन्द्रीय सदस्य रहेका लेखकले भने ।  

 

प्रकाशित मिति: १८:१२ बजे, बुधबार, कात्तिक २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्