Kathmandu Press

नीति तथा कार्यक्रम कर्मकाण्डी : शशांक कोइराला  

काठमाडौं, जेठ ५ : नेपाली कांग्रसका महामन्त्री डा. शशांक कोइरालाले सरकराले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी ....

नीति तथा कार्यक्रम कर्मकाण्डी : शशांक कोइराला  

काठमाडौं, जेठ ५ : नेपाली कांग्रसका महामन्त्री डा. शशांक कोइरालाले सरकराले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका छन्। नीति तथा कार्यक्रम माथि सोमबारको छलफलमा भाग लिँदै कोइरालाले सरकार आम नागरिकको दुःखमा संवेदनशिल नभएको देखिएको बताएका हुन्। नेपाली भूमी अतिक्रमण भएको विषय नीति कार्यक्रममा उल्लेख हुनु सकारात्मक भएको भन्दै उनले लिपुलेकको विषय उच्चस्तरिय कुटनीति पहलमार्फत समाधान गर्न सरकारलाई आग्रह समेत गरे। 

उनले विदेशमा रहेका र समस्या भोगिरहेका नेपालीलाई स्वास्थ्य परीक्षण गरी घर फर्काउने व्यवस्था मिलाउन आग्रह गरे। ‘राहत वितरणमा अझ सक्रिय हुन आग्रह गर्दछु। राहत वितरणमा स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउनुपर्छ,’ उनले भने, ‘महामारीसँग जुध्न सरकारको तयारी अपेक्षाकृतरुपमा परिणामुखी हुन सकेको छैन।’
उनले स्वास्थ्यकर्मीको सुरक्षा कवचको अभाव र विश्वसनिय किट पर्याप्त नहुनु दुःखद भएको बताए। ‘आवश्यक समाग्री तत्काल प्रबन्ध गरी परीक्षणको दायरा बढाउन आग्रह गर्दछु। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाईकर्मीका मनोवल बढाउन आग्रह गर्छु।’

उनले नीति कार्यक्रममा शुसासनको कुरा गरिएपनि सरकार महासंकटको बेलासमेत भ्रष्टाचारमा लिप्त भएको बताए। ‘महासंकटको बेला सरकार भ्रष्टाचारमा लिप्त भएको स्वास्थ्यसामाग्री खरिद प्रकरणले प्रस्ट पारेको छ। यती काण्ड, सेक्युरिटी प्रेस खरिद, सांसद अपरहण काण्डले सरकारको शुसासन छताछुल्ल पारेको छ,’ उनले भने, ‘मजदुर, किसानले राहत पाएका छैनन्। मजदुरहरु हिँडेर घर पुग्नुपरेको छ। कृषिजन्य वस्तुको आयात रोक्न सकिएको छैन। नेपाली उत्पादन कुहिएको छ। यसले  सरकारको व्यवस्थापनमा प्रश्न चिन्ह उठेको छ।’

उनले कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुन नयाँ योजना ल्याउन आग्रह गरेका छन्। ‘वैदेशिक रोजगारीबाट फर्किने नागरिककाको विषयमा सरकारको ठोस योजना छैन। ठूलो रोजगारीका माध्यम बनेका साना, मझौला र ठूला उद्योगलाई जोगाउने योजना नै छैन। यस्ता उद्योग नजोगिए अर्थतन्त्र नै जोखिममा पर्नेछ। नीति तथा कार्यक्रमले लाखौं विद्यार्थी र सञ्चारजगतको समस्याप्रति नीति कार्यक्रम मौन छ,’ उनले भने।

प्रकाशित मिति: ११:४७ बजे, सोमबार, जेठ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्