निर्वाचन अगावै महाधिवेशन गर्न सहमतीमा कार्यतालिका ल्याऔं : मीन विश्वकर्मा
‘नियमित अधिवेशनले पार्टीमा उत्साह, चाहना र रूपान्तरण ल्याउँछ भने आम निर्वाचनले आम जनतामा आशा भर्छ र सिंगो मुलुकलाई सही दिशामा लैजान मद्दत पुर्याउँछ,’ उनले भने।
काठमाडौं, कात्तिक २५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचन भन्दा अगावै पार्टीको केन्द्रीय महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।
केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्दै विश्वकर्माले यस्तो भनाई राखेका हुन्। उनले अधिवेशनलाई पार्टी जीवनमा नयाँ उत्साह र रूपान्तरण ल्याउने अवसरका रूपमा लिनुपर्ने बताए।
‘महाधिवेशनको माध्यमबाट निर्वाचनको तयारी गरौँ, अलमल गरेर समय बर्बाद नगरौँ,’ विश्वकर्माले भने।
उनले पार्टीका सबै तहका अधिवेशनका तालिका तत्काल सार्वजनिक गर्न र त्यससँगै क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणलाई तीव्र गतिमा अघि बढाउन पनि सुझाए।
‘नियमित अधिवेशनले पार्टीमा उत्साह, चाहना र रूपान्तरण ल्याउँछ भने आम निर्वाचनले आम जनतामा आशा भर्छ र सिंगो मुलुकलाई सही दिशामा लैजान मद्दत पुर्याउँछ,’ उनले भने। केन्द्रीय सदस्य विश्वकर्माले महाधिवेशन र निर्वाचन तोकिएको समयमा हुन जरुरी रहेको बताए।
नियमित महाधिवेशनका लागि सहमति जुटाएर कार्यतालिका सार्वजनिक गर्न पनि विश्वकर्माले नेतृत्वसँग आग्रह गरे। अधिवेशनका लागि उपयुक्त मितिमा सहमति गरी तत्काल कार्यतालिका सार्वजनिक गर्नुपर्ने उनको भनाई थियो । महाधिवेशनको तालिकासँगै जारी बैठकबाट विधान संशोधन मस्यौदा समिति, क्रियाशील सदस्यता छानबिन समिति, निर्वाचन समिति, आर्थिक स्रोत व्यवस्थापन समिति पनि गठन गर्नुपर्ने उनको भनाई थियो।
महाधिवेशनको तयारीसँगै आम निर्वाचनको तयारी पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने उनको भनाई थियो। उनले भने, ‘निर्वाचन हुन्छ भन्ने विश्वासका साथ पार्टीका सबै तहमा प्रभावकारी परिपत्र गरौँ।’
त्यसपछि पार्टीले प्रतिबद्धता पत्र तयारी समिति, निर्वाचन परिचालन समिति र प्रचार–प्रसार समिति गठन गर्नुपर्ने प्रस्ताव उनको छ। विश्वकर्माले पछिल्ला वर्षहरूमा कांग्रेस आन्तरिक खिचातानी र अनिर्णयको कारण कमजोर बनेको बताउदै २०७९ को निर्वाचनमा जनमत घट्नुको कारण युवाप्रति बेवास्ता र पार्टीको अलमल भएको दाबी समेत गरे।
मंगलबारसम्म सहमहामन्त्री तहसम्म धारणा राख्ने क्रम सकिएको छ। संभवतः बुधबार केन्द्रीय बैठक सकिने छ।
मंगलबारको बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, डा.मिनेन्द्र रिजाल, दीपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवविक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले धारणा राखेका थिए।












