नयाँ नेपाल बनाउन नयाँ कांग्रेस जरुरी छ : नेता गिरी
नेता गिरीले पार्टीलाई ‘बिजनेस एज युजुअल’को शैली छोडेर आमूल सुधार गर्दै नयाँ नेतृत्व, नीति र कार्यक्रम सहित जनताको बीचमा जान ढिलो गर्न नहुनेमा जोड पनि दिए।
काठमाडौं, कात्तिक २५ :नेपाली कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले महाभारतको एउटा प्रसङ्ग स्मरण गर्दै देशको गम्भीर अवस्थालाई चित्रण गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उनले यस्तो चित्रण गरेका हुन्।
‘महाभारत युद्धको १४औं दिन भगवान कृष्णले आफ्नो दैवी शक्ति प्रयोग गरेर झमक्क साँझ पारि दिनुभयो र अर्जुन असफल भए भन्दै खुसी मनाउन निस्किएका जयद्रथलाई उज्यालो गराएर सजिलै बध गर्न सहयोग गर्नुभयो,’ उनले भने, ‘यसबाट हामीले बुझ्नुपर्छ कि भदौ २४ को विध्वंश कांग्रेस, एमालेलाई सत्तामा फर्काउन होइन, तिनको विकल्प खोज्न गराइएको थियो। त्यसैले समयमै हामीले यो बुझेर कदम चाल्नुपर्छ।’
नेता गिरीले पार्टीलाई ‘बिजनेस एज युजुअल’को शैली छोडेर आमूल सुधार गर्दै नयाँ नेतृत्व, नीति र कार्यक्रम सहित जनताको बीचमा जान ढिलो गर्न नहुनेमा जोड पनि दिए।
गत भाद्र २४ गते आन्दोलनको आवरणमा कांग्रेसका कार्यालय, नेताका घर र धरोहरहरूमा छानी–छानी गरिएको तोडफोड र आगजनीको घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग पनि गरे।
उनले देशको अस्तित्वमाथि नै खतरा रहेको भन्दै मुलुक अत्यन्तै संवेदनशील अवस्थामा रहेको पनि उल्लेख गरे। ‘माझीहरुले सल्लाह गर्दागर्दै सात गाउँ डुबे’ भन्ने नेपाली उखान स्मरण गराउन चाहन्छ । त्यसैलै अहिले पार्टी अनिर्णयको बन्दी हुनु हुँदैन,’ गिरीले भने।
बेलायतका पूर्व प्रधानमंत्री टोनी ब्लेयर र न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीको उदाहरण दिँदै कांग्रेस पनि समय सुहाउँदो नयाँ नेतृत्वका साथ अगाडि बढ्नुपर्ने बताए।
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै यसलाई सच्याउन र जेन–जी आन्दोलनका माग सम्बोधन गर्न कांग्रेस संसद् पुनःस्थापनाको पक्षमा जाने कि नजाने एउटा औपचारिक धारणा बनाउन पनि आग्रह पनि गरे।
कांग्रेस बैठकमा पेचिलो बन्दै गएको १५ औं महाधिवेशनको कार्यतालिका सन्दर्भमा धारणा राख्दै गिरीले देशभरिका महाधिवेशन प्रतिनिधिहरूको भावनाको सम्मान गर्दै मंसिर महिनाभित्रै नियमितं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्न र भ्रातृ संस्थाहरूको अधिवेशन गराउन पनि माग गरे।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

