धुलिखेल अस्पतालबाट घर फर्केका बिरामी क्वारेन्टाइनमा
ओखलढुंगा, जेठ ५ : धुलिखेल अस्पतालमा उपचार गरेर गाउँ फर्केका ओखलढुङ्गाका बिरामीसहित चार जनालाई क्वारेन्टाइनमा राखिएको छ।
काभ्रेको धुलिखेल अस्....

ओखलढुंगा, जेठ ५ : धुलिखेल अस्पतालमा उपचार गरेर गाउँ फर्केका ओखलढुङ्गाका बिरामीसहित चार जनालाई क्वारेन्टाइनमा राखिएको छ।
काभ्रेको धुलिखेल अस्पतालमा शनिबार कोरोनाबाट एक सुत्केरी महिलाको मृत्यु भएको थियो। त्यहि अस्पतालमा उपचार गरेर घर फर्केका चार जनालाई क्वारेन्टाइनमा राखिएको हो।
उनीहरु धुलिखेल अस्पतालबाट शनिबार दिउँसो एम्बुलेन्समार्फत ओखलढुङ्गा पुगेका थिए। चारै जनालाई आइतबार सदरमुकामस्थित ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गाको क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए।
जिल्लामा उच्च सतर्कता अपनाइरहेको अवस्थामा धुलिखेल अस्पतालबाट उपचार गराएर केही मानिस जिल्ला फर्केको सूचनाका आधारमा उनीहरुलाई क्वारेन्टाइन पठाइएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ। उनीहरुको आरडिटी तथा स्वाब परीक्षणपछि नियमानुसार क्वारेन्टाइनमा राखेर घर पठाइने उनले बताए।
क्वारेन्टाइनमा पठाइएकामा सिद्धिचरण नगरपालिका–५ मा बस्दै आएका सोलुखुम्बुको नेचासल्यानका एक बिरामी, उनका भिनाजु, माइजू र एम्बुलेन्स चालक रहेका छन्।











