सिके राउत नेकपामा नगए नयाँ पार्टी बनाएर फोरम–राजपासँग प्रतिस्पर्धा गर्नुपर्छ : कर्ण
मेरो बुझाइमा सीके राउतको पृथकतावादी सोच परित्यागले मधेशको क्षेत्रीय राजनीतिमा खासै फरक पर्दैन । राष्ट्रिय सभागृहमा उनको भाषण सुन्दा लाग्यो– कतै नेकपामा प्रवेश पो....
मेरो बुझाइमा सीके राउतको पृथकतावादी सोच परित्यागले मधेशको क्षेत्रीय राजनीतिमा खासै फरक पर्दैन । राष्ट्रिय सभागृहमा उनको भाषण सुन्दा लाग्यो– कतै नेकपामा प्रवेश पो गर्दैछन् कि ! तर, त्यो नहुन पनि सक्छ । उनी नयाँ तरिकाले जान लागेको भनेका छन् ।
मेरो बुझाइमा ‘दक्षिण’ले यो काम गर्दै नगर भनेको थियो सुरु देखि नै । त्यसैले त्यताको पेलाइका कारण सीके राउत यो निष्कर्षमा पुगे भन्ने मलाई लाग्दैन ।
सिके राउतसँग लागेका मन्छेहरू खासमा मधेश केन्द्रित दलको राजनीतिबाट विरक्त भएको जमात थियो । हाम्रो माग फोरम वा राजपाबाट पूरा भएनन्, त्यसैले अब अलग्गै देश बनाउनुपर्छ भनेर उनको पछि लागे । अब त्यो जमात र मधेशी दलले उनलाई फरक रूपमा हेर्छन् । नेकपामा नजाने हो भने अब उनले नयाँ पार्टी बनाएर काम गर्नुपर्छ । उपेन्द्र यादव, महन्थ ठाकुरजस्ता नेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ । यो उनका लागि सजिलो छैन ।
मेरो विचारमा उनी पाँच–छ महिना लामो जेल बसाइबाट आत्तिए । उनले भने पनि– जेल ठूलो विश्वविद्यालय रहेछ भनेर । उनी आत्तिएर अहिलेको अवस्थामा पुगे भन्ने मलाई लाग्छ । मधेशको क्षेत्रीय राजनीतिमा यसले खासै असर गर्दैन ।
(कुराकानीमा आधारित)






