सांसद अपहरणको उजुरीबारे प्रहरीले बुझायो सरकारी वकिल कार्यालयमा राय
काठमाडौं, जेठ ४ : जनता समाजवादीका सांसद् डा. सुरेन्द्र यादव अपहरणबारे काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसरले जिल्ला सरकारी वकिलको कार....

काठमाडौं, जेठ ४ : जनता समाजवादीका सांसद् डा. सुरेन्द्र यादव अपहरणबारे काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसरले जिल्ला सरकारी वकिलको कार्यलायमा रायसहितको प्रतिवेदन बुझाएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयका प्रवक्ता नुमराज खनालले प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको र त्यसबारे थप अध्ययन भइरहेको जानकारी दिए।
'सांसद् अपहरणको उजुरीबारे प्रहरीले आफ्नो अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाएको छ,' उनले भने, 'यसबारे हामी अध्ययन गर्छौ र थप अनुसन्धान गर्नु पर्ने हो या मुद्दा दर्ता गर्नुपर्ने हो वा तामेलीमा राख्नुपर्ने हो कानुनअनुसार निर्णय गर्छौ।'
यता प्रहरीले सांसद यादवको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरको किटानी जाहेरीमा सत्तारुद्ध नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्धको उजुरी तामेलीमा राख्नुपर्ने रायसहितको प्रतिवेदन दिएको सरकारी वकिल स्रोतले जानकारी दियो।
आफ्नो अपहरणबारे उजुरी दिन प्रहरी परिसर टेकु पुग्दा प्रहरीले जाहेरी नै नलिइ फिर्ता पठाएको थियो। त्यसपछि उनी जिल्ला सरकारी वकिलको कार्यालय उजुरी लिएर पुगेका थिए। त्यहाँ पनि उजुरी लिन नमानेपछि उनले मानवअधिकार आयोगको कार्यालयमा उजुरी दर्ता गरेका थिए। आयोगमा उजुरी दर्ता भएपछि सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गरी प्रहरीलाई अनुसन्धान प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको थियो।
सरकारी वकिल कार्यालयबाट निर्देशन आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले घटनाको अनुसन्धान गर्न थालेको हो।











